असार १३ अमलेखगञ्ज : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्नुभएको हो।

वर्षौँदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ। यसअघि साँघुरो संरचनामा सेवा सञ्चालन गर्दै आएको कार्यालयले अब व्यवस्थित र सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा उपलब्ध गराउने जनाएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
उहाँले आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै नगरभित्रका सबै वडा कार्यालयलाई क्रमशः व्यवस्थित र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपप्रमुख भोला प्रसाद अधिकारीले प्रशासनिक संरचना बलियो हुँदा स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बढ्ने बताउनुभयो। उहाँले आफ्नै भवनबाट सेवा सञ्चालन हुनुले प्रशासनिक कामकारबाही थप व्यवस्थित र प्रभावकारी बन्ने धारणा राख्नुभयो।
वडा नम्बर २२ का वडाध्यक्ष शेखर काजी रुम्बाले वर्षौँदेखि भाडा तिरेर सेवा दिनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै अब आफ्नै भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले नयाँ भवनले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै प्रशासनिक कार्यसम्पादनमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो।करिब ४० लाखको लागतमा ५ कोठे भवन निर्माण गरिएको उपमहानगरले जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

