सर्लाहीमा पहिलो महिला मेयरको रुपमा कल्पना कटुवाल निर्वाचित

पछिल्लाे समाचार

राधेश्याम कुशवाहा,९ जेठ ।। सर्लाहीको बरहथवा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले जित हासिल गरेको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार कल्पना कटुवालले आफनो निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान मेयर देवानन्द महतोलाई ५६०७ मतको फराकिलो भारी अन्तरले पछि पार्दै विजयी भएकी हुन ।

यो जितसंगै सर्लाहीमा नेकपा एमालेका पहिलो र अन्तिम खाता खोलेका छन, भने कटुवाल जिल्लाकै पहिलो महिला मेयरका रुपमा ईतिहास रचेकी छिन । त्यस्तै नेकपा एमालेकै रामबाबु साह जिल्लाकै पहिलो पुरुष उपमेयर बन्न सफल भएका हुन ।

एमालेकी कटुवालले निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका प्रत्यासी देवानन्द महतोलाई झण्डै दोब्बर मतान्तरले पराजित गरिन् । कटुवालले १२ हजार २७३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी महतोले ६ हजार ६६६ मत मात्र पाए । त्यस्तै उपप्रमुखमा एमालेका साह ९ हजार ९०१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगा दाहालले ७११९ मत पाईन् ।

बरहथवाको मतगणना सम्पन्न भएसँगै सर्लाहीमा २० वटै पालिकाले नयाँ जनप्रतिनिधि पाएको छ । बरहथवा नगरपालिका–१७ मा जेठ ३ गते पुनः मतदान भएकाले बरहथवा नगरपालिकाको मतपरिणाम आउन ढिलाई भएको बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।
सर्लाहीमा २० वटा स्थानीय निकाय रहेका छन । जसमध्ये १२ वटा स्थानीय निकायमा नेपाली कांग्रेस, ४ वटा माओवादी केन्द्र, २ मा जसपा, १-१ मा नेकपा एमाले र लोसपा विजयी भएका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय