अखिलेश यादव ।१५ असार, बारा । मधेश प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन क्षेत्रीले बारा जिल्लालाई बीउ उत्पादनको मुख्य केन्द्र (हब) बनाइने घोषणा गरेका छन्। आइतबार कोल्हवी नगरपालिका–४ स्थित सपहीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीको लगानी तथा मधेश प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री क्षेत्रीले मधेश प्रदेशलाई कृषि आत्मनिर्भर बनाउने दिशामा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए।

२२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री क्षेत्रीले नेपाल कृषि प्रधान देश भएकाले सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले परम्परागत कृषि प्रणालीका कारण किसानहरु पछाडि परिरहेको उल्लेख गर्दै यान्त्रिकरणबाट उत्पादनमा वृद्धि र लागतमा कमी आउने स्पष्ट पारे।२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रतीकात्मक रोपाइँ समेत गरिएको थियो। कार्यक्रम कृषि विकास निर्देशनालय, नक्टाझिझ, धनुषाको आयोजनामा तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीको सहकार्यमा सम्पन्न भएको हो।

बीउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत ७० लाख रुपैयाँ बराबरको गोदाम र ५० लाख रुपैयाँ लागतमा आधुनिक मेसिनरीसहितको उद्योग निर्माण गरिएको छ। मन्त्री क्षेत्रीले रिवन काटेर उक्त प्रशोधन केन्द्रको उद्घाटन गरे।कार्यक्रममा कृषि सचिव रमेश दहालले मधेश प्रदेशमा बारा जिल्ला सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्ला भएकोले विशेष प्राथमिकता दिइएको बताए। उनले पटक–पटक मल अभावले समस्या निम्त्याउने गरेको र त्यसको समाधानका लागि निरन्तर पहल भइरहेको बताए।कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले किसानले उत्पादन गरेको धानको उचित मूल्य निर्धारणमा बिचौलियाले हस्तक्षेप गर्दै आएको गुनासो गरे।

“किसानले मेहनत गरेर उत्पादन गरे पनि मूल्य त उनीहरुले निर्धारण गर्न पाउँदैनन्,” उनले भने। कार्यक्रमका अध्यक्ष कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले नेपालमा वार्षिक १४ लाख मेट्रिक टन धान उत्पादन हुनेमा ४ लाख मेट्रिक टन मधेश प्रदेशमै उत्पादन हुने बताए। “कोल्हवीका किसानको उत्पादनलाई प्रशोधन गरी बीउमा रूपान्तरण गरेर वितरण गर्ने लक्ष्यका साथ यो केन्द्र स्थापना गरिएको हो,” यादवले भने। कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीका मुख्य प्रबन्धक अरुण चौधरीको स्वागत तथा संचालनमा सम्पन्न भएको थियो।