अखिलेश कुमार यादव । साउन ०७ सिमरा : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ६ सय ९३ सवारीसाधनलाई कारबाही गरी एक करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ४ सय २४ सवारीसाधनलाई कारबाही गर्दा दुई करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस वर्ष कारबाहीमा परेका सवारीसाधन र राजस्व दुवैमा कमी आएको छ। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बारा जिल्लामा एक हजार २ सय ११ सवारी दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्षमा एक हजार १ सय ४७ दुर्घटनामा ९३ जनाले ज्यान गुमाएका थिए। दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने घटेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक भट्टराईले सडकको कमजोर अवस्था, तीव्र गति र मानवीय लापरवाहीका कारण दुर्घटना बढ्दै गएको भए पनि ट्राफिक सचेतना अभियान, नियमित सवारी जाँच तथा कडाइका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सफलता मिलेको बताउनुभयो। दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आफू स्वयं छड्के ट्राफिक जाँचमा खटिने गरेको र चेकजाँचका क्रममा चालकलाई ट्राफिक नियम पालना, सुरक्षित गति तथा जिम्मेवार सवारी सञ्चालनबारे सचेतना प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको ट्राफिक प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो।

