साउन ०८ रौतहट : रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब साढे १० बजे स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार खुकुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही स्थायी घर भई हाल हरिहरपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवी जयसवालमाथि खुकुरी प्रहार गरेका थिए। घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्र साह कलवारलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्रलाई चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। उहाँका अनुसार आक्रमणकारीको अवस्था गम्भीर छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँबाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी गौतमले जानकारी दिनुभयो। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

