सिम्रौनगढमा विपद् तथा महामारी व्यवस्थापनसम्बन्धी द्रुत प्रतिकार्य कार्यशाला सम्पन्न

पछिल्लाे समाचार

साउन ०६ सिमरा : बाराको सिम्रौनगढ नगरपालिकामा विपद् तथा महामारीका समयमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि द्रुत प्रतिकार्यसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहकार्यमा आयोजित गोष्ठीमा विपद् तथा महामारीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आपतकालीन अवस्थामा द्रुत र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक ज्ञान, सीप र रणनीतिबारे प्रशिक्षण दिइएको हो। कार्यक्रममा द्रुत प्रतिकार्य समितिको काम, कर्तव्य र अधिकार, विपद् जोखिम तथा महामारीको पहिचान, रोकथामका उपाय र आपतकालीन स्वास्थ्य व्यवस्थापनका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारले जनप्रतिनिधिले नीति तथा योजना निर्माण गर्ने र कर्मचारीले त्यसको प्रभावकारी कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सबै पक्ष जिम्मेवार र समन्वयात्मक ढंगले परिचालित हुनुपर्ने बताउनुभयो। उहाँले द्रुत प्रतिकार्य समिति र टोलीबीच प्रभावकारी समन्वय गर्दै स्वास्थ्यसम्बन्धी विपद् तथा महामारीको सामना गर्न गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको सहजीकरण मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका फुलेन्द्र यादव र युगुलकिशोर यादवले गर्नुभएको थियो। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, द्रुत प्रतिकार्य समिति तथा टोलीका सदस्य, शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय