साउन ०६ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा एलिफेन्ट भिलेज रिसोर्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर २१ र २२ का स्थानीयवासीलाई प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी जानकारी प्रदान गरिएको थियो। प्राथमिक उपचारसम्बन्धी प्रशिक्षणका क्रममा प्रशिक्षक पिताम्बर कोइरालाले दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या पर्दा एम्बुलेन्स वा स्वास्थ्यकर्मी नआउँदासम्म सही तरिकाले प्राथमिक उपचार गर्न सके बिरामीको ज्यान बचाउन सकिने बताउनुभयो।

उहाँले घाउ–चोट, रक्तश्राव, हड्डी भाँचिएको अवस्था, बेहोस हुने, सर्पदंशलगायतका घटनामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायबारे जानकारी प्रदान गर्नुभएको थियो। त्यसैगरी गुप्तरोगसम्बन्धी प्रशिक्षक आयुष्मा भट्टराईले यौनजन्य रोगका कारण, लक्षण, रोकथामका उपाय तथा समयमै स्वास्थ्य परीक्षण र उपचारको महत्वबारे जानकारी दिनुभयो। उहाँले गुप्तरोग लुकाएर बस्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परामर्श र उपचार लिन आग्रह गर्दै सुरक्षित व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो। अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिनयकुमार साहको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुबास श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सचेतना नै रोग रोकथामको सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले स्थानीयवासीलाई प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायलाई सुरक्षित, सचेत र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य जमुना गौतम, अमलेखगञ्ज स्वास्थ्य चौकी प्रमुख अप्सरा तिवारीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

