साउन ०५ सिमरा । लगातारको वर्षापछि बाराको निजगढस्थित लालबकैया नदीमा पानीको बहाव बढ्दा नदी कटान तीव्र बनेको छ। सम्भावित जोखिमको अवस्था मूल्यांकन गर्न मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। नदी कटानका कारण नदी किनारका बस्ती, खेतीयोग्य जमिन तथा स्थानीय पूर्वाधार जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै टोलीले प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नुका साथै नदीको बहाव, कटानको अवस्था र थप क्षति हुन सक्ने सम्भावित स्थानहरूको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या, तत्काल आवश्यक सुरक्षा उपाय तथा दीर्घकालीन नदी नियन्त्रणका योजनाबारे जानकारी लिइएको प्रशासनले जनाएको छ।।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले वर्षा अझै जारी रहेकाले सबै सम्बन्धित निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। उहाँले नदी कटानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक समन्वय, उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाइने बताउनुभयो।
सुरक्षा निकायले पनि सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उद्धार सामग्री र स्रोतसाधन तयारी अवस्थामा राखिएको जनाएको छ। जोखिम बढेमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समेत तयार राखिएको छ।।स्थानीय बासिन्दाले लालबकैया नदीको कटान प्रत्येक वर्ष दोहोरिने समस्या भएकाले दीर्घकालीन रूपमा तटबन्ध निर्माण र नदी नियन्त्रणका प्रभावकारी योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।।जिल्ला प्रशासन कार्यालयले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेका बेला अनावश्यक आवतजावत नगर्न तथा विपद्सम्बन्धी सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

