साउन ०९ सिमरा : बाराको जितपुरस्थित एक उद्योगबाट करिब चार लाख १५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको उजुरीपछि प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जितपुरका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–७ रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योगबाट मोटर, प्यानल बोर्ड, फलामका डिस्क, कवाडी फलाम, बोरिङ, क्लच प्लेट र पुराना ब्याट्रीसहित विभिन्न सामान चोरी भएको भन्दै उद्योगका सञ्चालक रामबाबु प्रसाद साह कलवारले आज लिखित निवेदन दिएका हुन्।
उजुरीपछि प्रहरी नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले उद्योगबाट करिब १५ सय थान ग्यासको भाँडो राख्ने चुलोसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–५ का २२ वर्षीय बादल मियाँ तथा वडा नम्बर ७ का ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।

