१९ असार ।रौतहट ।रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ः१५ बजे करेन्ट लाग्दा स्थानीय २० वर्षीय रोहित साह सोनारको ज्यान गएको हो।
स्थानिय ज्ञानी साह सोनारका छोरा रोहित बिहान आफ्नो खेतमा सिँचाइ गर्न मोटरबाट पानी हाल्ने क्रममा करेन्टको चपेटामा परेका थिए। गम्भीर घाइते भएका उनलाई तत्कालै उद्धार गरी इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीको सहयोगमा प्रादेशिक अस्पताल, कलैया लगिएको थियो।
तर, चिकित्सकहरूको प्रयास असफल रह्यो। उपचारकै क्रममा बिहान ८ बजे रोहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।घटनापछि गाउँभरि शोकको वातावरण छ। समाजमा मिलनसार र सहयोगी स्वभावका रूपमा चिनिएका रोहितको असामयिक निधनले गाउँलेहरू स्तब्ध छन्।