प्राविधिक परीक्षण बिना योजनाको भुक्तानी : भ्रष्टाचारको पर्याय बन्दै पर्यटन कार्यालय 

पछिल्लाे समाचार

२३ असार ।कलैया : प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास कार्यालय वीरगंज पर्सामा व्यापक अनियमितता भएको प्रमाणहरू बाहिर आउन थालेका छन् । उक्त कार्यालयका प्रमुख बबिता जैसवालले अधुरा संरचनाहरूमा समेत धमाधम अन्तिम भुक्तानी गरिरहेको तथ्य सार्वजनिक भएपछि उनीमाथि गम्भीर प्रश्न उठेको छ ।

बाराको बिश्रामपुर गाउँपालिका–५, ईटियाहीमा निर्माणाधीन धर्मशाला तथा विवाह मण्डपको भवन उदाहरणीय हो । ४९ लाख ५१ हजार ४ सय ४२ रुपैयाँको बजेटबाट निर्माण भइरहेको यो संरचना अझै अधुरो छ । छतको ढलान असार १९ गते मात्र गरिएको थियो, तर त्यसको केही दिनभित्रै भुक्तानी भइसकेको कार्यालय प्रमुख जैसवाल स्वयम्‌ले स्वीकारेकी छन् । यो कार्यान्वयन प्रक्रिया र प्राविधिक मापदण्ड विपरीत छ ।

प्राविधिकहरूको अनुसार, छत ढलान भएको कम्तीमा १४ दिनसम्म पानी जमाएर राख्नुपर्ने र त्यसपछि एक साता सेन्ट्रीङ खोलिसकेर मात्र अन्य परीक्षणहरू गरेर अन्तिम भुक्तानी गर्नुपर्ने हुन्छ । तर यहाँ प्राविधिक परीक्षण नगरी, ल्याब टेष्ट नगरी, काम सम्पन्न नभएसम्मै भुक्तानी गरिएको देखिन्छ । त्यो पनि कार्यालय प्रमुखकै ‘दबाब’मा।उक्त कार्यालयका प्राविधिकहरुकै अनुसार यो आर्थिक वर्षमा बाराका विभिन्न पालिकामा मात्रै २३ वटा योजना सञ्चालनमा छन्, जसमध्ये अधिकाशं योजनाहरूमा ल्याब परीक्षणको नाममा आँखामिचौली गरिएको छ । भुक्तानी प्रक्रियामा पारदर्शिता छैन, कमिशनको चलखेलले शासन लिएको छ ।

यसबाहेक, कार्यालय प्रमुख जैसवाल बिना प्राविधिक पृष्ठभूमि भएर पनि सबै प्राविधिक निर्णयहरूमा हस्तक्षेप गर्दै आएकी छन् । पत्रकारहरूले यस्ता अनियमितताबारे प्रश्न गर्दा उनले झर्किएको, पन्छिएको र उत्तर दिन नमानेको तथ्यहरू प्रमाणित छन् ।जब सरकारी रकम विकासको नाममा यस्तरी गुम्छ, तब जनताको भरोसा पनि गुम्छ । निरीक्षण, मूल्यांकन र पारदर्शी प्रक्रिया बिना भुक्तानी गर्ने चलन तत्काल रोकिएन भने वीरगंजको पर्यटन विकास कार्यालय भ्रष्टाचारको पर्याय बन्न धेरै समय लाग्नेछैन ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय