बारा जिल्लामा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

पछिल्लाे समाचार

२४ असार । कलैया : खोप सेवा सबै उमेर समूहसम्म पुर्‍याउन सफल बारा जिल्ला अब “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” मा उदाहरणीय बनेको छ। जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने औपचारिक कार्यक्रम सोमबार सम्पन्न भयो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तथ्यपरक विवरण र तथ्यांक कर्मचारीहरूबाट उपलब्ध भएमा स्थानीय सरकारले समेत खोप कार्यक्रमका लागि बजेट छुट्याउने सम्भावना बढ्ने बताए। “खोपको उपलब्धता मात्रै होइन, यसको गुणस्तर र दीगो सेवा प्रवाहका लागि निरन्तर प्रयास आवश्यक छ,” अधिकारीले भने, “यसमा सबै स्वास्थ्यकर्मीले आफ्नो दायित्व जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ।”

जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवका अनुसार जिल्लाले हाल सबै उमेर समूहका लागि आवश्यक पर्ने नियमित खोप सुनिश्चित गरिसकेको छ। खोप सेवा दिगोपनाका लागि आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापन प्रणालीको समेत तयारी भइसकेको जानकारी उनले दिए। “हामीले खोप पहुँच शतप्रतिशत पुर्‍याउन स्थानीय तह, स्वास्थ्य संस्थाहरू र सामुदायिक स्वयंसेवकहरूको अभूतपूर्व सहयोग पाएका छौँ,” यादवले भने, “यस योगदानको कदरस्वरूप स्वास्थ्य प्रमुखहरूलाई सम्मानपत्रले सम्मान गरिएको हो।”कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था र उदाहरणीय स्वास्थ्यकर्मीहरूलाई सम्मान गरियो। यसले उनीहरूको मनोबल बढाउने मात्र होइन, अन्यलाई पनि प्रेरणा दिने अपेक्षा लिइएको छ। प्रमुख यादवले जिल्लाले अझ सशक्त योजना सहित स्वास्थ्य सेवा विस्तार र दीगो स्वास्थ्य प्रणाली निर्माणमा लाग्ने प्रतिबद्धता पनि जनाए।

जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, राष्ट्रिय अनुसन्धान बारा प्रमुख सरोज निरौला, सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सुर, बारा शाखा उपाध्यक्ष पनालाल दास, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा सम्पन्न भएको हो।यस अवसरले बारा जिल्लाको स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउँदै दीगो स्वास्थ्य सुरक्षातर्फ एक ठोस पाइला अगाडि बढाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय