जगदम्बा स्टिल्सको जोखिमपूर्ण भट्टी सञ्चालन रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई सात दलको ज्ञापनपत्र

पछिल्लाे समाचार

२४ असार ।कलैया : बस्तीको बीचमा मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गरी संचालन हुँदै आएको जगदम्बा स्टिल्सको भट्टी तत्काल बन्द गरिनुपर्ने मागसहित सात राजनीतिक दलका स्थानीय नेताहरूले बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन्।सोमबार कलैयास्थित जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीका जीतपुरसिमरा क्षेत्रीय नेताहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्।

सिडिओ बसन्त अधिकारीलाई बुझाइएको उक्त ज्ञापनपत्रमा उद्योगले वातावरण र मानव स्वास्थ्यमा पार्दै आएको नकारात्मक असरप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ। उनीहरूले असार १८ गते राति सिसिएम प्लान्टमा भएको भट्टी विष्फोटपछि सिंगो बस्ती त्रसित बनेको जनाउँदै भविष्यमा अझ ठूलो क्षति हुनसक्ने भन्दै तत्काल जोखिमपूर्ण भट्टी सञ्चालन बन्द गरिनुपर्ने माग गरेका हुन्।ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, एकीकृत समाजवादीका सञ्जय पटेल, लोसपाका सरोज पटेल र जनमत पार्टीका मनोहर साहको हस्ताक्षर रहेको छ।

राजनीतिक दलहरूले भट्टी विष्फोटको सत्यतथ्य छानबिन गर्न माग गर्दै घटना पश्चातको त्रासदीपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। उनीहरूको आरोप छ— भूकम्पसरहको झड्का दिने गरी भएको विष्फोटमा उद्योग प्रशासनले घटनालाई सामान्य ठहर गर्दै पारदर्शिता नदेखाएको छ।स्थानीयबासीका अनुसार विगतमा पनि सोही उद्योगमा पटकपटक विस्फोट भएका छन्, जसमा जनधनको क्षति भएको थियो। तिनै घटनाको आधारमा उद्योगप्रति असन्तुष्टि बढ्दै आएको हो। वातावरणीय प्रदूषणसमेत बढ्दै गएको र जीतपुरसिमरा उपमहानगरपालिकाले समेत उदासीनता देखाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय