पुष ०३ कलैया : जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष ०८२÷०८३ अन्तर्गत मंसिर महिनामा जिल्लामा भएका सुरक्षा गतिविधि र अपराध नियन्त्रणसम्बन्धी विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार मंसिरमा जिल्लाभर १३० वटा अपराध मुद्दा दर्ता भएका छन्। तीमध्ये ३१ जघन्य तथा गम्भीर अपराध रहेका छन्। आर्थिक अपराधमा ३३ मुद्दा दर्ता भएका छन् भने चालु मुद्दामा ६९ जना प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनमा ८ जना पक्राउ परेका छन्।
लागू औषधसम्बन्धी ७ मुद्दा दर्ता भएको र यस क्रममा ९ जना पक्राउ परेका छन्। बरामद सामग्रीमा ९३.५ ग्राम गाँजा, ३० ग्राम ब्राउन सुगर, २१.६५० ग्राम कोकिन, १५०० पिस अल्प्रजोलम र ४५,९०० पिस ट्रमादोल समावेश छन्।।मंसिर महिनामा ९ जनाले आत्महत्या गरेका छन्। उनीमध्ये ७ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्। उमेर समूह हेर्दा २०–३५ वर्ष बढी प्रभावित देखिएका छन्। प्रसौनी गाउँपालिका–६ स्थित किरण बेभरेज नेपाल प्रालि नजिक राम किशोर सिंहको हत्या भएको र शव फेला परेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा १०४ घटना भएका छन्। दुर्घटनामा ९ जनाको मृत्यु र १५९ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट १० लाख ९६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।।महिला, बालबालिका र जेष्ठ नागरिकतर्फ १६५ उजुरी दर्ता भएकोमा ९८ वटा फर्छ्यौट गरिएको छ। घरेलु हिंसासम्बन्धी ८० उजुरी मध्ये ५१ वटा मिलापत्र भएको छ।।जिल्ला प्रहरीले आत्महत्या न्यूनिकरण, लागू औषध नियन्त्रण, साइबर क्राइम, दाइजो प्रथा र लैङ्गिक हिंसा विरुद्ध २८ सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन नियमित गस्ती, चेकजाँच र समुदायिक साझेदारी अझ प्रभावकारी बनाइनेछ।

