असार २९ सिमरा : रौतहटको पत्रकारिता क्षेत्रमा १४ महिनाको अन्तरालमा दुई सक्रिय पत्रकारको निधन भएको छ। वि.सं. २०८२ वैशाख ३० गते ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतको उपचारका क्रममा काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको थियो। चन्द्रपुर नगरपालिका–४ निवासी ४० वर्षीय महत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। उहाँ रेडियो सुप्रिमका सञ्चालक तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता हुनुहुन्थ्यो। त्यसको करिब १४ महिनापछि, सोमबार नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता प्रिमेश सिवाकोटीको पनि असामयिक निधन भएको छ।
केही समयदेखि स्वास्थ्य समस्यासँग संघर्षरत सिवाकोटीको मिर्गौला, कलेजो र फोक्सोलगायतका महत्वपूर्ण अंगले काम गर्न छाडेपछि चन्द्रपुरस्थित आफ्नै निवासमा निधन भएको हो।सिवाकोटीको निधनसँगै रौतहटको पत्रकारिता क्षेत्रले अर्को सक्रिय, निर्भीक र कर्तव्यनिष्ठ पत्रकार गुमाएको छ। उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ, विभिन्न सञ्चार संस्था, राजनीतिक दल तथा पत्रकारहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। लगातार दुई सक्रिय पत्रकारको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको सरोकारवालाहरूले बताएका छन्।

