अखिलेश कुमार यादव ।असार २९ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को लोहसण्डामा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माणको शिलान्यास गरिएको छ। सोमबार आयोजित कार्यक्रममा शिव शक्ति घ्यू उद्योग प्रालिका अध्यक्ष सन्दीप अग्रवाल तथा सञ्चालक एवं शेयरधनी श्रद्धा अग्रवालले संयुक्त रूपमा प्रसूति गृहको शिलान्यास गर्नुभएको हो। शिव शक्ति घ्यू उद्योग प्रालिको करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रसूति गृहले वडा नम्बर ८ सहित आसपासका क्षेत्रका गर्भवती महिलालाई सहज रूपमा प्रसूति सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। हालसम्म सुरक्षित प्रसूति सेवाका लागि अन्य स्थान जानुपर्ने बाध्यता रहेकाले यो केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिव शक्ति घ्यू उद्योग प्रालिका अध्यक्ष सन्दीप अग्रवालले उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो। उद्योगले स्थानीय समुदायको साथ र सहयोगबाट सफलता हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीयको जीवनस्तर उकास्ने सामाजिक कार्यमा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, वडा नम्बर ८ का वडाध्यक्ष शिवशंकर महतोले उद्योगको प्रस्तावअनुसार वडा कार्यालयले प्रसूति गृह निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो। उहाँले शिव शक्ति घ्यू उद्योगले देखाएको सामाजिक उत्तरदायित्वको उदाहरण अन्य उद्योग प्रतिष्ठानले पनि अनुसरण गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यले विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य गंगा पटेलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, उद्योगका कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा वडावासीको उल्लेख्य सहभागिता रहेको थियो। निर्माणाधीन प्रसूति गृह आगामी असोज महिनाभित्र पूर्ण रूपमा सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गर्ने उद्योगको योजना रहेको छ। प्रसूति गृह सञ्चालनमा आएपछि सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार हुनुका साथै आमा र नवजात शिशुको स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

