साउन २३ सिमरा : साना किसान कृषि सहकारी संस्था डुमरवानाले सदस्य म्यादि जीवन बीमा कार्यक्रमअन्तर्गत मृतक सदस्यको परिवारलाई ३ लाख रुपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाका पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य तथा सेवाकेन्द्र डुमरवानाका समूह नम्बर २३ का सदस्य जीवनाथ गौतमको निधनपछि बीमा कम्पनीबाट प्राप्त ३ लाख रुपैयाँ बराबरको चेक उहाँकी धर्मपत्नी जीवमाया गौतमलाई हस्तान्तरण गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा अन्तर समूह नम्बर ११ को नियमित बैठकका क्रममा वडा अध्यक्ष चयन मगर गुरुङ र संस्थाका अध्यक्ष प्रदीप सिंह बरालले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा वडा अध्यक्ष चयन मगर गुरुङले सहकारीले सञ्चालन गर्दै आएको म्यादि जीवन बीमा कार्यक्रमले विपद्को समयमा सदस्य तथा परिवारलाई महत्वपूर्ण राहत प्रदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सदस्य हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । यस्तै, संस्थाका अध्यक्ष प्रदीप सिंह बरालले सदस्यहरूको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै सहकारीले विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ । म्यादि जीवन बीमा कार्यक्रम सदस्य तथा परिवारको सामाजिक सुरक्षाका लागि महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।

