अखिलेश कुमार यादव। साउन २३ सिमरा : आन्तरिक राजस्व कार्यालय सिमराले गत आर्थिक वर्षमा कर संकलनमा उल्लेख्य वृद्धि गरेको छ। आन्तरिक राजस्व कार्यालय सिमराका कार्यालय प्रमुख दिनेश पाण्डेले आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले १७ करोड ८१ लाख ६७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १५ करोड २२ लाख ७७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा करिब १७ प्रतिशतले वृद्धि भएको पाण्डेले जानकारी दिनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयकरतर्फ १७ करोड ४२ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ७८ प्रतिशतको लक्ष्य प्रगति हो भने वृद्धि करिब १ सय ४ प्रतिशतभन्दा बढी रहेको जनाइएको छ । यस्तै, मूल्य अभिवृद्धि कर अर्थात् भ्याटतर्फ १५ करोड २८ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ । भ्याट संकलनमा करिब ४१ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ । अन्तःशुल्कतर्फ भने ११ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । यसैबीच, कार्यालयमा करदाता दर्ताको संख्यासमेत बढेको आन्तरिक राजस्व कार्यालय सिमराका कार्यालय प्रमुख दिनेश पाण्डेले जानकारी दिनुभएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल ८४ हजार ४ सय ८४ करदाता दर्ता रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर ९३ हजार १ सय ९ पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आयकरतर्फ १६ हजार ४ सय ५४, मूल्य अभिवृद्धि करतर्फ १० हजार २ सय ४५, अन्तःशुल्कतर्फ १ हजार ६ सय ४८, व्यक्तिगत प्यानतर्फ ६४ हजार ६ सय र डब्ल्युप्यानतर्फ १ सय ६२ करदाता दर्ता रहेको जानकारी दिइएको छ । करदाता संख्या तथा राजस्व संकलनमा भएको वृद्धि कर प्रशासनप्रति बढ्दो सहभागिता र करको दायरामा विस्तारको संकेत भएको कार्यालयले जनाएको छ ।

