चुनौतीको चाङमाथि देउवाका पांचौं कार्यकाल

ज्योतिषीले उहिल्यै पांचौं पटक पनि प्रधानमन्त्री हुन्छौ भनेका शेरबहादुर देउवा अन्ततः सर्वोच्च अदालतको अनपेक्षित परमादेशले प्रधानमन्त्री भईछाडे । प्रत्यक्षतर्फ तेस्रो भएको काँग्रेस प्रमुख सत्तापक्ष, दोस्रो भएको माओवादी सहायक सत्तापक्ष र पहिलो भएको एमाले प्रमुख प्रतिपक्ष हुनेगरि सरकारको संरचना निर्माण भएको छ । नेपालको ५० बर्ष लामो संसदीय ईतिहासमा पहिलोचोटी दुईतिहाई जनमत पाएको कम्युनिष्ट पार्टीले आफ्नो जनमत जोगाउन नसक्दा यसरी काँग्रेसलाई चिठ्ठा परेको हो ।

सत्ता बाहिर रहंदा एक हुने सत्तामा पुगेपछि फुट्ने नेपाली कम्युनिष्ट शैलीले फेरि पनि एमाले–माओवादी सम्मिलित नेकपालाई छाडेन । आम निर्वाचनमार्फत् काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएपनि परिस्थितिले काँग्रेसलाई फेरि सत्तामा पुयाएको छ । दुई तिहाई बहुमत नजिक रहेको नेकपा विभाजित हुदै सर्वोच्चको आदेशबाट पूर्ववत् अवस्थामा एमाले र माओवादी आ–आफ्नो बाटोमा हिडेपछि “भाइ फुटे गवांर लुटे” भन्ने उखान चरितार्थ हुनेगरि काँग्रेसलाई फेरि सत्तामा पुग्ने सुनौलो अवसर हात लागेको हो । तिव्र राजनीतिक ध्रुवीकरण बढिरहेको अहिलेको असामान्य परिस्थितिमा मुलुकको पांचौं प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर देउवाको यो कार्यकाल निकै चुनौतीपूर्ण हुने देखिन्छ । प्रधानमन्त्रीको रुपमा देउवाको लागि राम्रो काम गरेर देखाउने यो एउटा सुनौलो अवसर मात्र नभएर कडा चुनौती पनि साथसाथ छ ।

संविधानबमोजिम साउन २९ गतेभित्र उनले संसदमा विश्वासको मत लिन सक्छन् कि सक्दैनन् भन्ने कुराले मुलुकको मुख्य राजनीतिक दिशा मात्र होइन् यो सरकार र संसद्को भविष्य पनि तय गर्नेछ । संसदमा विश्वासको मत जिते वा नजिते पनि यो सरकारसामु केही अनिवार्य दायित्व छन् । आसन्न आम निर्वाचन गराउने (विश्वासको मत पाए आवधिक नत्र मध्यावधी), विधिको शासन सुनिश्चित गर्नेदेखि कोभिड महामारी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेसम्मका कार्यमा देउवा सरकार खरो उत्रनु पर्नेछ ।

बिगतमा चार÷चार पटक देउवाका शासन शत्ता देखि भोगीसकेका जनतामा उनको पाँचौं कार्यकालबाट उतिसारो अपेक्षा र उत्साह छैन । उनको सत्ता रोहणमा रमाउनेहरु प्रायःओलीलाई खुच्चिङ भन्न पाएर खुसी हुनेहरु छन् । लामालामा गफ चुटेर र दशतिर हात हालेर विवादास्पद बन्नुभन्दा विवादरहितढंगले बरु थोरै काम गरेर देउवाले कार्यकाल बिताए भने जनतामा कम्युनिष्टभन्दा काँग्रेस नै ठिक भन्ने सन्देश जान सक्छ । त्यसले आगामी चुनावमा काँग्रेसलाई फाईदै पुग्दछ ।तर, अण्टसण्ट निर्णय गर्दै बिगतमा झैं विवादास्पद बन्न थाले भने आजैबाट काँग्रेसको भोट घट्न थाल्ने पक्का छ । देउवाका काँधमा आईलागेका बर्तमान चुनौतीहरु, जो प्रकारान्तरले अवसर पनि हो, लाई निम्न बुंदामा उल्लेख गर्न सकिन्छ ।

१ः पुरानो छबि सुधार्ने चुनौती :
पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाको बिगतका चार कार्यकाल कुनै न कुनैरुपमा विवादमै रहेका थिए । देउवाको नाममा थुप्रै ट्यागहरु छ्न् । नेपालको राजनीतिमा बिकृति, विसंगति भित्र्याएको आरोप छ । बिगतमा सांसदहरुलाई किनबेच गरेको, सुरा–सुन्दरी काण्ड मच्चाएको, पजेरो संस्कृति भित्र्याएको, धेरै मन्त्री बनाएको, राजाको पाउमा सत्ता बुझाएको, प्रम बन्न बिन्तीपत्र हालेको, राजाबाट असक्षमको बिल्ला भिरेको जस्ता राजनीतिक ट्याग उनीमाथि रहेको छ ।

तर, तुलनात्मकरुपमा यस पटक देउवा संयमित र सतर्क भने देखिएका छन् । यस पटक कठिन अवस्थामा प्रधान मन्त्री बनेको र गठबन्धनको सहमतिमा अगाडी बढ्नुपर्ने बाध्यता रहेकाले देउवामा संयमता पनि देखिएको छ । यद्यपि, प्रधान मन्त्रीको रुपमा आफ्नो पुरानो छबिलाई सुधार्नै पर्ने चुनौती र गतिलो अवसर उनको अगाडी छ ।

२ः कोरोनाविरुद्धको चुनौती :
प्रधानमन्त्रीको रुपमा देउवाको पहिलो चुनौती कोरोनाविरुद्धको लडाई नै हो । अहिलेसम्म करिब १० हजारले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । अहिले पनि हरेक दिन २ हजारभन्दा बढी संक्रमित थपिईरहेका छन् । पटकपटक लकडाउन र निषेधाज्ञा गर्दा पनि संक्रमण दर अहिले पनि घट्दो अवस्थामा छैन ।

काठमाण्डौ उपत्यकालगायत बाहिरका कैयौं जिल्लामा संक्रमण बढिरहेको र यसको नयां भरियन्ट देखा पर्न थालेका छन् । यस अवस्थामा परिक्षणको दयारा बढाएर संक्रमणको चेन तोड्न र सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकारको ठुलो चुनौती हो । भर्खरै अमेरिकाबाट जोनसनको १५ लाख डोज खोप आएको छ भने जापानले १६ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै चीनबाट किनेको ४० लाख डोजमध्ये ८ लाख डोज आइसकेको छ भने ३२ लाख डोज आउन बांकी छ । अझै १६ लाख डोज थपिदिने प्रतिवद्दता प्रधानमन्त्री देउवासँग राजदुत याङछीले भेटमा गरेकी छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडाअनुसार अहिलेसम्म ११ लाखले दुवै डोज खोप लगाएका छन् भने पहिलो डोज मात्र लगाउने २६ लाख २१ हजार छन् । यस अवस्थामा सरकारको प्राथमिकता छिटोभन्दा छिटो बाहिरबाट खोप ल्याएर धेरैभन्दा धेरै नागरिकलाई दुवै डोज खोप लगाउने अवसर प्रदान गर्ने हुनुपर्छ ।

३ः जनतामा व्याप्त निराशा चिर्ने चुनौती :
अहिले आमरुपमा केपी शर्मा ओली नेतृत्वको सरकारको करिब साढे ३ बर्षको कार्यकालमा जनता अपेक्षाकृत निराश नै रहेका देखिन्छन् । काम नभएको त कदापि होईन, यद्यपि आशातित अपेक्षा पुरा हुन भने सकेनन् । सपना धेरै देखाउने विपनामा केहि नगर्ने अवस्था नै मुख्य कारक रह्यो ।

सरकारले नत आफ्नो चुनावी घोषणा पत्र अनुसार काम गर्नसक्यो नत जनताको दैनिकीमा खासै परिवर्तन ल्याउन सक्यो । हरेक दिन नयाँ नयाँ काण्ड र अनियमितताका समाचार मात्र सुन्नुपर्यो । सरकारका कामका फेहरिस्त सुनेर, देखेर जनतामा एक किसिमको निराशा व्याप्त रहेको छ । साथै बहुमतको निर्वाचित सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेपछि व्यवस्था नै खराब त होइन भन्ने आशंका जनतामा परेको छ ।

जनताले अहिले धेरै ठुलो कुरा खोजेका छैनन् । शान्ति सुरक्षा, देशमा सुशासन र विकासमा गतिशिलता खोजेका छन् । यी एउटा सरकारका सामान्य र गर्नै पर्ने कामहरु हुन्, जजसका लागि अहिलेसम्मका सरकार खरो उत्रन सकेन । यस अवस्थामा प्रधानमन्त्री बनेका देउवाको अगाडी आमरुपमा जनतामा छाएको यो निरासालाई चिर्ने चुनौती रहेको छ ।

४ः गठबन्धन बचाउने चुनौती :
अहिले काँग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको गठबन्धनको बलमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । उनको अगाडी यस गठबन्धनलाई कायम राखिराख्ने चुनौती छ । खासगरी यस गठबन्धनमा निर्णायक रहेको एमालेको नेपाल पक्षलाई बचाउने र आफ्नो पक्षमा राखिरहने चुनौती उनको अगाडी छ ।

विश्वासको मत दिन अग्रसर एमाले भित्रको माधव नेपाल समूहलाई विश्वासमा घात नगर्नु देउवाको कर्तव्य हो । यसबाट उनलाई दुई फाईदा हुन्छः एक, उनको सरकार विश्वासको मत पाएर जोगिन्छ । दुई, एमाले पार्टी विधिवत् विभाजन हुनमा मद्दत गर्छ । हाल एमालेको एकता प्रक्रिया हरेक दिन मिल्ने र नमिल्ने भइरहेको छ ।

यस अवस्थामा नेपाल पक्ष तत्काल अलग पार्टी बनाएर जाने अवस्थामा पनि नरहेको र मिल्ने अवस्था पनि नरहेको अवस्थामा रहेकाले यसको टुंगो लाग्ने र नलाग्ने अवस्थाबाट नै गठबन्धन के हुन्छ भन्ने टुंगो लाग्ने देखिन्छ । यस अवस्थामा देउवाले जति सक्यो छिटो विश्वासको मत लिएर आफु सुरक्षित हुने बाटो रोज्नु अन्यथा देखिन्न ।

५ः अर्थव्यवस्थालाई सुधार्ने चुनौती :
कोरोनाका कारण देशको अर्थव्यवस्था तहसनहसको अवस्थामा रहेको छ । लामो समय लकडाउन हु“दा पर्यटन, उद्योग, व्यापार, रोजगारको क्षेत्र धरासायी भएको छ । पर्यटनका पुर्वाधार होटल, रेष्टुरेण्टलगायत धेरै क्षेत्र लगभग धारासायी भएको अवस्था छ । बन्द र लकडाउनले कैयौं उद्योग कलकारखाना बन्द छन् ।

केही निश्चित ठुला उद्योग टिके पनि मझौला र साना उद्योगहरु कि त बन्द भएका छन् कि त फेरि संचालन गर्न सरकारको सहयोग खोजिरहेको अवस्था छ । पर्यटनको प्रमुख पूर्वाधारको रुपमा रहेको होटल, रेस्टुरेन्ट क्षेत्र त अहिले लगभग बन्दको अवस्थामा छ । अर्बौको लगानी रहेको यो क्षेत्र बिगत डेढ बर्षदेखि बन्द अवस्थामा छ ।

विश्वभर कोरोना महामारी तत्काल समाप्त हुने सम्भावना नरहेकाले पर्यटकको आवागमन बढ्ने सम्भावना नरहेकाले यो क्षेत्र माथि उठ्न लामो समय लाग्ने देखिन्छ । त्यस्तै लामो समयसम्म बन्द रहेको यातायात क्षेत्रमा पनि अर्बौको लगानी डुबेको अवस्थामा छ । त्यसैले सरकारले यी क्षेत्रमा ठोस योजना ल्याएर सहयोग गर्नुपर्ने चुनौती रहेको छ ।

६ः निर्वाचन गराउने चुनौती :
अबको सन्दर्भमा देउवा सरकारको मुख्य काम भनेकै चुनाव गराउने हो । अब भटाभट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न गराउनु पर्नेछ । विश्वासको मत पाएर सरकार सञ्चालनको जिम्मेवारी पाएमा अबको डेढ बर्षमा देउवाले यी काम फत्ते गर्नुपर्ने देखिन्छ ।

प्राविधिक हिसाबले यो काम सम्पन्न गर्नका लागि निर्वाचन आयोग छंदैछ । तर, चुनावका लागि वातावरण तयार पार्ने दायित्व सरकार अथवा देउवाको हो । हिजो ओलिको नेतृत्वमा चुनावमा जान तयार नभएका दलहरु देउवाको नेतृत्वमा सहजै चुनावमा जालान भनेर विश्वास गर्न सकिदैन । त्यो वातावरण निर्माण गर्नु देउवाको लागि चुनौती देखिन्छ ।

यी मुख्य मुख्य चुनौतीका बाबजुद देउवा नेतृत्वको सरकारको अगाडी लामोसमयदेखि विवादित रहेको एमसीसी टुंगाउने, संसदमा लामो समयदेखि विचा–राधीन रहेका नागरिकतादेखि निजामती कर्मचारी सम्मका महत्वपूर्ण र अति जरुरी विधेयकहरूलाई छिटो पारित गराउने, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्ने र आक्रमणकारीलाई कडा कारबाही गर्न र खोप तथा औषधिको आपत्कालीन प्रयोग गर्न ल्याइएका अध्यादेशहरूलाई पनि संसदमा पेस गरेर पारित गराउन जोड दिनुपर्छ ।

विश्वव्याधिका कारण असर पुगेको अर्थतन्त्रमा सुधार ल्याउनु र जनतालाई राज्यको अनुभूति दिलाउने गरी सुशासन कायम गर्नु यो सरकारका अरू प्राथमिक चुनौती हुन् । सुशासनका सवालमा त प्रधानमन्त्री देउवाको आम छवि यसै पनि राम्रो छैन, यसमा उनले आफ्ना बिगतका पदचिह्नहरू मेट्नैपर्छ र नयां पहिचान स्थापित गर्नुपर्छ ।

गठबन्धन सरकारलाई सकेसम्म व्यवस्थापन गर्ने कला त उनमा छ, तर त्यही कलाको भद्दा प्रदर्शनले बिगतमा आफ्नो छवि ओरालो लागेको तथ्य देउवाले भुल्नु हुंदैन । सुरा, सुन्दरी, पजेरो, जम्बो मन्त्रीमण्डल, भ्रष्टाचार आदी काण्डले बिग्रेको छवि सुधार्ने यो उनका लागि सुनौलो अवसर पनि हो । यस्ता धेरै पक्षमा विचार पु¥याएर वर्तमान समयका दायित्वहरू कुशलतापूर्वक निर्वाह गर्न सकेमा मात्रै यो सरकार सफल भएको मानिनेछ । अन्यथा, देउवाको तस्बिरमुनि प्रधानमन्त्रीको अर्को एउटा कार्यकाल थप्नुबाहेक अर्को केही हुने छैन ।
अस्तुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here