माघ २० कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आम जनता पार्टीको क्षेत्रीय भेला बाराको गँजभवानिपुरमा सम्पन्न भएको छ। भेलामा बारा जिल्लाको विकास, रोजगारी सिर्जना र ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणलाई मुख्य एजेन्डा बनाइएको छ। आम जनता पार्टी क्षेत्रीय अध्यक्ष सियाराम जयस्वालको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बारा–२ का उम्मेदवार आत्माराम साह र लिलावती देवी साह, केन्द्रीय सचिवालय सदस्य सुनिल यादव तथा बारा–४ का उम्मेदवार उमेश कुशवाहाको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य केन्द्रीय सचिवालय सदस्य सिताराम जयस्वालले राखेका थिए। बारा–२ का उम्मेदवार आत्माराम साहले आगामी निर्वाचन राष्ट्र निर्माण र संविधान संशोधनका लागि निर्णायक हुने बताए। आफू स्थानीय बासिन्दा भएकाले जनताका समस्या बुझेर समाधानमा केन्द्रित हुने उनको भनाइ थियो। कार्यक्रमका प्रमुख अतिथि प्रभु साहले देशमा भ्रष्टाचार र दलतन्त्र हाबी भएको आरोप लगाए। भेलामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

