माघ २१ कलैया : बाराको क्षेत्र नम्बर ४ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। यही क्रममा नेपाली कांग्रेसले एकै दिन बुधबार दुई पालिकामा संगठनात्मक बैठक सम्पन्न गरेको छ। प्रसौनी गाउँपालिका र फेटा गाउँपालिका कार्यपालिका समितिको बैठक सम्पन्न भएको हो। नेपाली कांग्रेसका नेता शेखर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्यामबाबु गुप्ताको पक्षमा माहोल थप मजबुत बनाउने उद्देश्यले एकै दिन दुई पालिकामा कार्यक्रम आयोजना गरिएको हो।

बैठकहरू विशेष गरी युवा तथा स्थानीय स्तरमा राम्रो पकड बनाउँदै आएका उम्मेदवार गुप्तालाई कसरी प्रभावकारी ढंगले विजयी गराउने भन्ने विषयमा केन्द्रित थिए। बाराको सिमरा निवासी उम्मेदवार गुप्ता पछिल्लो समय संगठन विस्तार, चुनावी एजेन्डा जनतामाझ पुर्याउने र घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। बैठकलाई सम्बोधन गर्दै उनले आफू भाषणले होइन, कामले चिनिन चाहने उम्मेदवार भएको स्पष्ट पारे।

उनले भने, “सबैले चुनावका बेला ठूला ठूला प्रतिबद्धता गर्छन् तर पछि बिर्सन्छन्। म भाषण गर्ने नेता होइन, बारा क्षेत्र नम्बर ४ का जनताका लागि वास्तवमै के गर्न सक्छु भन्नेमा केन्द्रित छु। जनताको समस्या बुझेर समाधान गर्ने मेरो प्राथमिकता हो।”
गुप्ताले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने खाका प्रस्तुत गरे। उनका यस्ता व्यवहारिक भनाइले उपस्थित नेता कार्यकर्तामा उत्साह थपिएको देखिन्थ्यो।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताले श्यामबाबु गुप्तालाई जिताउन संगठनका सबै संरचना परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउने, युवालाई केन्द्रमा राखेर प्रचारप्रसार गर्ने र जनताको गुनासो सिधै उम्मेदवारसमक्ष पुर्याउने रणनीतिमा समेत सहमति भएको छ।
यससँगै बाराको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको चुनावी गतिविधि थप सशक्त बन्दै गएको छ भने उम्मेदवार गुप्ताको सक्रियता र व्यवहारिक सोचले उनलाई जनतामाझ लोकप्रिय बनाउँदै लगेको स्थानीयको बुझाइ छ।

