माघ २१ सिमरा : बारा निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो झटका लागेको छ। रास्वपाका उम्मेदवारका आकांक्षी श्यामसुन्दर पटेल जम्बो टोलीसहित नेकपा एमालेमा प्रवेश गरेपछि राजनीतिक समीकरण फेरिएको छ। पटेलको नेतृत्वमा भएको सामूहिक प्रवेशले एमालेका उम्मेदवार कृष्णकुमार किसान श्रेष्ठको पकड अझ बलियो बनेको छ। पार्टी प्रवेशपछि प्रतिक्रिया दिंदै श्यामसुन्दर पटेलले रास्वपाले जनताको भावना र कार्यकर्ताको मेहनतलाई मूल्यांकन नगरेको आरोप लगाए।
फिल्डमा दिनरात खटिए पनि बाहिरबाट उम्मेदवार ल्याएर टिकट बाँडिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “रक्सी उही हो, बोतल मात्रै परिवर्तन भएको छ,” भन्दै उनले रास्वपाको संरचना र अभ्यासप्रति कडा टिप्पणी गरे। यही कारण किसान श्रेष्ठलाई विजयी गराउने लक्ष्यसहित एमाले रोजेको उनले स्पष्ट पारे। पटेलको प्रवेशसँगै बारा–४ मा एमालेप्रति आकर्षण बढ्दै गएको देखिन्छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू किसान श्रेष्ठको नेतृत्व र ट्र्याक रेकर्डलाई आधार मानेर एमालेमा प्रवेश गर्ने लहर तीव्र बनेको छ। यसले रास्वपा बारा–४ मा कमजोर बन्दै गएको संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले रहबर अन्सारीको मत परिणाममा पनि प्रभाव पार्न सक्छ। पार्टी प्रवेश कार्यक्रमका क्रममा किसान श्रेष्ठले श्यामसुन्दर पटेल र उनको टोलीलाई भव्य स्वागत गरे। किसान श्रेष्ठले भने, “जनताको विश्वास नै हाम्रो बल हो। विकास, रोजगारी र सुशासनका कामले बारा–४ लाई अघि बढाएका छौं। आज थपिएको साथले हामीलाई अझ जिम्मेवार बनाएको छ।” उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा बहुमतसहित विजयी भएर स्थिर सरकार गठनमा एमालेको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे।
यसअघि पनि बारा–४ बाट विजयी भइसकेका किसान श्रेष्ठले निरन्तरतासहित परिणाम दिन सक्ने अनुभवी नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। पटेलको प्रवेशपछि मैदानमा एमालेको संगठनात्मक शक्ति र जनसमर्थन दुवै सुदृढ बनेको छ। आगामी निर्वाचनमा किसान श्रेष्ठलाई बहुमतका साथ विजयी गराउने प्रतिबद्धता नयाँ प्रवेशकर्ताहरूले दोहोर्याएका छन्।

