बारा–४ मा रोजगारी र विकासको एजेन्डासहित श्यामबाबु गुप्ता चुनावी मैदानमा

पछिल्लाे समाचार

माघ २४ सिमरा : आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन समितिको कार्यालय जीतपुरमा उद्घाटन गरिएको छ। शनिवार संविधान सभा सदस्य डा. शोभाकर प्राजुलिको प्रमुख आतिथ्यतामा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।।निर्वाचन अभियानलाई प्रभावकारी, सशक्त र व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले स्थापना गरिएको यस कार्यालयमार्फत घरदैलो अभियान, जनसम्पर्क तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।


कार्यालय उद्घाटनपछिको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले क्षेत्रको समग्र विकास र स्थानीयस्तरमै रोजगारी सिर्जना आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारे। बारा क्षेत्र नम्बर ४ भित्र औद्योगिक करिडोर रहे पनि स्थानीय युवा तथा श्रमिकले रोजगारीको अवसर नपाएर बाहिरिनु परेको यथार्थ उल्लेख गर्दै उनले निर्वाचित भएपश्चात युवालाई आफ्नै क्षेत्रमा रोजगारी सुनिश्चित गर्ने खालका ठोस योजनामा काम गर्ने प्रतिबद्धता जनाए।


गुप्ताले शिक्षा र स्वास्थ्यलाई विकासको आधारशिला मान्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जनताको हकहितका लागि निरन्तर काम गर्ने बताए। प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले सही नीति, लगानी र नेतृत्व भए देशले छिट्टै आर्थिक फड्को मार्न सक्ने धारणा व्यक्त गरे। उनले उद्यमशीलता प्रवर्द्धन, आधुनिक कृषि प्रणाली, स्थानीय उत्पादनको बजारीकरण र पूर्वाधार विकासमार्फत क्षेत्र नम्बर ४ लाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य रहेको बताए। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। विकास र सुशासनमार्फत त्यो विश्वासलाई परिणाममा बदल्नेछु,” गुप्ताले भने।


कार्यक्रममा बोल्दै संविधान सभा सदस्य डा. शोभाकर प्राजुलीले नेपाली कांग्रेस देशकै अभिभावक पार्टी भएकाले मुलुकका हरेक समस्यालाई मर्यादित र लोकतान्त्रिक ढंगले समाधान गर्ने क्षमता राख्ने बताए। कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने उल्लेख गर्दै उनले प्रजातन्त्रमा विश्वास राख्ने सबै नागरिकलाई कांग्रेसमा आबद्ध भएर देश सेवामा लाग्न आग्रह गरे। कांग्रेसले युवालाई नेतृत्वमा अगाडि बढाउने नीतिअनुसार गगन थापालाई युवा नेताको रूपमा अघि सारिएको र भावी प्रधानमन्त्री बनाउने योजनासहित पार्टी अघि बढिरहेको प्राजुलीले बताए। “अब पार्टीको नेतृत्व युवाको काँधमा पुगेको छ। त्यसैले युवा मतदाताले एक पटक कांग्रेसलाई विश्वास गर्न जरुरी छ,” उनले भने।


कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटनसँगै बारा क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप तातिएको छ भने कांग्रेसले जनआधारित र विकासमुखी एजेन्डासहित चुनावी प्रतिस्पर्धामा सशक्त उपस्थिति जनाउने संकेत दिएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय