७ सय माग्दा ३५ आएपछि खोप बहिष्कार

हेटौंडा–कोरोनाको जोखिममा पनि अग्रभागमा रहेर काम गरिरहेका उद्योगी–व्यवसायीको छाता संगठन थाहानगर उद्योग वाणिज्य संघले खोप नपाएकोमा आक्रोश व्यक्त गरेको छ । हाल तत्काल न्यूनतम् ७ सय डोज खोप माग गरिएकोमा ३५ डोजमात्र खोप उपलब्ध गराउने बताएपछि खोप बहिष्कार गरिएको उवा संघ अध्यक्ष कविराज खत्रीले बताए ।

“तत्कालका लागि ७ सय डोज आवश्यक रहेको भन्दै माग गरेका थियौं । तर, जम्मा ३५ डोजमात्र दिने खबरले हामीलाई पीडा महसुस भयो, सिंगो परिवार नै जोखिममा राखेर व्यवसाय गरेका हाम्रो अवमूल्यन भएको छ । यो खोप हामीलाई चाहिँदैन,” अध्यक्ष खत्रीले गुनासो गरे–हामी किनेरै पनि लगाउन तयार छौं । तर, उपलब्ध गराउनुपर्याे ।

अध्यक्ष खत्रीले ३५ डोजमात्र खोप उपलब्ध गराएर व्यवसायबीच फाटो ल्याउने नियतसमेत देखाएको आरोप लगाउँदै भने–अब ३५ डोज खोप हामीले कसलाई सिफारिस गर्ने ? यो सरासर एकआपसमा फाटो ल्याउने नियत हो । त्यसैले सबैलाई पुग्ने डोज नदिउञ्जेल हामी खोप लगाउने छैनौं । थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत् ७ सय डोज खोप माग गरेको थियो ।

कोभिडको लहरबीच व्यवसाय सञ्चालन गर्दैआएका उद्योगी व्यवसायीले कोरोनाको खोप आवश्यक रहेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मागपत्र बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य अजीव भट्टराई, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ केन्द्रीय सदस्य राजेन्द्र लामिछानेसहित उद्योगी व्यवसायीको टोलीले मुख्यमन्त्री पौडेललाई भेटेर १० हजार डोज खोप माग गरेका हुन् ।

मकवानपुरका सन्दर्भमा १० हजार डोज खोप उपलब्ध भए हाल सञ्चालनमा रहेका व्यवसायमा आवद्ध भएकाहरु जोखिममुक्त हुने भन्दै उनीहरुले खोप माग गरेका हुन् । मागपत्र ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार प्रदेशका सबै क्षेत्रका नागरिकको स्वास्थ्यबारे सचेत तथा गम्भीर रहेको र व्यवसायीको मागलाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्ने बताए । मागपत्र प्रस्तुत गर्दै न्यौपानेले उद्योगी व्यवसायीमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै प्रदेश सरकार मागबारे गम्भीर बन्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here