दुहूनो भैंसीमा ४० हजार अनुदान

पछिल्लाे समाचार

हेटौंडा–भीमफेदी गाउँपालिका वडा नम्बर–५ का छलप्रसाद पुडासैनी एक कर्मशील दुग्ध उत्पादक किसानका नाममा चिनिन्छन् । आव २०७७–०७८ मा ८ हजार लिटर भन्दा धेरै दूध उत्पादन गरेर बिक्री गर्न उनी सफल भएका छन् ।

गत आवमा ५ लाख लिटर भन्दा धेरै दूध उनले भीमफेदी–५, सुपिङमा रहेको सुपिङ दुग्ध सहकारी संस्थामार्फत् बिक्री गरेका छन् । ४ वटा गाई र २ वटा भैंसीपालन गर्दै आएका पुडासैनीले केही समय अघिमात्र एउटा भैंसी किनेका छन् । हेटौंडा–१६, हटियाबाट असारमा १ लाख २५ हजार रुपियाँमा उनले अर्को भैंसी किनेका हुन् ।

हाल पुडासैनीले दिनको २० लिटर दूध उत्पादन गरेर बिक्री गर्दै आएका छन् । पुडासैनीको मेहनत र जाँगरका लागि पालिकाबाट थप सहयोग प्राप्त भएपछि आफूमा जोश थपिएको बताउँछन् उनी ।

“एउटा भैंसी किनेर दैनिक ८ लिटर दूध बिक्री गर्ने किसानलाई पालिकाले ४० हजार रुपियाँ अनुदानस्वरुप दिने भन्ने सूचना भएको रहेछ । त्यही सूचनाका आधारमा मैले पनि निवेदन दिएको थिएँ । छनौटमा परेपछि १ लाख २५ हजारको दुहूनो भैंसी किन्दा पालिकाको ४० हजार पर्दा आफ्नो ८५ हजार प¥यो । केही भए पनि सहयोग प्राप्त हुँदा खुशी लागेको छ,” पुडासैनीले भने ।

सोही स्थानका अर्का दुग्ध उत्पादक किसान रामप्रसाद पुडासैनीले एउटा गाईमात्रै पाल्दै आएका थिए । पालिकाले भैंसी किन्न अनुदान दिने भन्ने खबर सुनेपछि रामकुमारले पनि पालिकामा सम्झौता गरेका थिए । आफ्नो नाम छनौटमा परेपछि उनले १ लाखमा भैंसी किनेर ल्याए । १ लाख परेको दुहूनो भैंसीमा उनको व्यक्तिगत् ६० हजार पर्न गयो भने ४० हजार रुपियाँ पालिकाले अनुदानस्वरुप उपलब्ध गराएको थियो ।

गोठमा एउटामात्र गाई पलिरहेका उनलाई पालिकाको सहयोगमा भैंसी खरिद गर्न पाउँदा खुशी लागेको बताउँछन् । हाल उनले उक्त भैंसीको दूध दैनिक ९ लिटरका दरले बिक्री गर्न थालेका छन् ।

“तर तोकेजति परे पनि यति रकममात्र दिने भन्नु भन्दा पनि यति प्रतिशत् रकम उपलब्ध गराउने भन्ने गरी अनुदान दिने गरे अझै सबै किसानहरु उत्साहित हुनेछन्,” रामकुमार बताउँछन् । आगामी दिनमा ५० प्रतिशत् अनुदानमा पशु चौपाया खरिदमा अनुदान दिने निर्णय हुनु जरुरी छ । यसरी आधा पालिकाले व्यहोर्ने भएपछि किसानमा जाँगर थपिने उनको विश्वास छ ।

मकवानपुरका पालिकाहरुले कृषिउपज, पशुपालन तथा दुग्ध उत्पादनमार्फत् आफ्ना पालिकाका बासिन्दालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनेतर्फ लागिपरेका छन् । यसअनुरुप गत आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजन भएको बजेटमार्फत् भीमफेदी गाउँपालिकाले दुग्ध पकेट क्षेत्र स्थापनाका लागि किसानलाई अनुदान दिएर भैंसीपालनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम सञ्चालन गरेको पालिका उपाध्यक्ष पार्वती राना बताउँछिन् ।

पालिकाले वडा नम्बर–५ र ९ लाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गर्न अभियान सञ्चालन गरिएको पालिकाका कृषि तथा पशु प्राविधिक बिमल ढुंगानाले बताए । भैंसी खरिद अनुदानका लागि ५ र ९ नम्बर वडाका किसानलाई लक्षित गरी सूचना प्रकाशन गरिएकोमा दुई वटा वडाका ९० भन्दा बढी किसानले सम्झौता गर्न आएको र तीमध्ये ८० किसान छनौट गरी प्रतिव्यक्ति ४० हजारका दरले अनुदान उपलब्ध गराउने निर्णय गरिएको कृषि तथा पशु शाखा अधिकृत ढुंगाना बताउँछन् ।

उनका अनुसार भैसी खरिद अनुदानका लागि गत आव २०७७÷०७८ को लागि पालिकाले ३५ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये लगभग २२ लाखमात्र खर्च भएको र बाँकी रकम फ्रिज भएको छ ।

“अनुदानका लागि ८० किसान छनौट गरिए पनि ५६ जनाले मात्र खरिद गरेका कारण बाँकी २४ किसानले पाउने रकममध्ये लगभग १२ लाख रुपियाँ फ्रिज भयो । पहिले काम गर्छौ भनेर सम्झौता गर्न आए । पछि बिभिन्न कारण देखाउँदै खरिद गर्न नसकेपछि पालिकाले अनुदानमार्फत् रकम उपलब्ध गराउन नसकिएको हो,” ढुंगानाले भने ।

भीमफेदी गाउँपालिकाले हाल २ वटा वडामा मात्र सञ्चालन गरेको भैंसी खरिद अनुदान कार्यक्रम अन्य वडाका किसानले पनि माग गर्न थालेका छन् । दुग्ध उत्पादन क्षमता रहेको सम्भावित वडाहरु चयन गरेर २ वटा वडाबाट सुरु गरिएको कार्यक्रम चालु वर्षको बजेटमा सम्भव भएसम्म पालिकाका सबै वडामा सञ्चालन गरिने कृषि तथा पशु शाखा अधिकृत ढुंगाना बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय