स्पष्ट जिम्मेवारी नभएकाले स्थानीय तह अलमलमा

पछिल्लाे समाचार

हेटौंडा–सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले बन जोगाउनेलाई नै बनको वास्तविक माया हुने बताएका छन् । स्थानीय बन ऐन र नीतिनियम समुदायमैत्री बनाउने र प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने उद्धेश्यसाथ मंगलबार बकैया गाउँपालिकाको हात्तीसुँडेमा भएको समन्वयात्मक बैठकमा उनको यस्तो विचार आएको हो । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सरोकारवालाबीच समन्वयात्मक बैठक भएको हो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कानुनमा स्पष्ट जिम्मेवारी नभएका कारण स्थानीय तह अलमलमा रहेको बताए । स्थानीय तहले आफ्नो अधिकारको सबै क्षेत्रमा राम्रोसँग काम गरिरहेको सन्दर्भमा लागिपर्ने हो भने राम्रोसँग काम गर्नसक्ने अध्यक्ष खनालको भनाइ छ । जनताले जोगाएको बनलाई जनताको रेखदेख र निगरानीमा सदुपयोग गर्न कुनै समस्या नभएको तर कानुनमा स्पष्ट हुनुपर्ने अध्यक्ष खनालको भनाइ छ ।

बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी र सामुदायिक बन उपभोक्ता महासंघका बागमती प्रदेशका रामहरि शर्माले ऐन–नियम बनाउँदा सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने र उपभोक्तालाई दक्ष बनाउँदै जाने बताए ।

स्थानीय समुदायले बनको संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्ने गरी नीति बनाउन सरोकारवाला सबैले पहल गर्नुपर्नेमा बैठकका सहभागीले जोड दिए । ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाहरुले बनको संरक्षण गर्दै आए पनि बनपैदावर उपयोगको क्रममा उनीहरुलाई नै बिभिन्न किसिमबाट समस्या आइपर्ने गरेको भन्दै बैठकका सहभागीले स्थानीय बन ऐन समुदायमैत्री हुनुपर्नेमा जोड दिए ।
बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले ग्रामीण भेगका नागरिकले विकासका क्रममा पनि बनको वाधा झेल्नुपरेको भन्दै नागरिकका लागि सहज नीति बनाउनुपर्ने बताइन् । बनसंरक्षण गर्नेको कदर नभएको र सीमित मानिसले बनको दुरुपयोग गरेको भन्दै ४ नम्बर वडाध्यक्ष राजन दंगालले यस्तो अवस्थाले गर्दा स्थानीयमा निराशा छाएको बताए ।

दायित्ववोध गराउन नागरिक स्वयम्लाई अपनत्ववोध गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष दंगालले स्थानीय नागरिकलाई अधिकारसम्पन्न बनाउनेतर्फ सबैले ध्यान दिन अनुरोध पनि गरे । समुदायले संरक्षण गरेपछि बनको मुहार फेरिएको ५ नम्बर वडाध्यक्ष शेरमान घलानको भनाइ थियो ।

सामुदायिक बन उपभोक्ता महासंघ बकैया अध्यक्ष भक्त खत्रीले समुदायमैत्री नीति बनाउन महासंघले निरन्तर समन्वय र पहल गर्ने बताए । बैठकमा बकैया गाउँ कार्यपालिका सदस्य तथा कर्मचारी, डिभिजन बन कार्यालय मकवानपुर र सामुदायिक बन उपभोक्ता महासंघका प्रतिनिधि सहभागी थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय