कलैया, असार ४ गते :कलैया उपमहानगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाका तत्कालीन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको आज असामयिक निधन भएको छ। नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै बर्णवालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
बर्णवालको निधनको खबरसँगै नगरपालिकाको निर्णयअनुसार आज कलैया उपमहानगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू तथा क्षेत्रका शैक्षिक संस्थाहरूमा आधा दिन सार्वजनिक बिदा दिइएको छ।नगरपालिकाले शोक सन्देशमार्फत दिवंगत बर्णवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिका परिवारले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेको छ।