अखिलेश कुमार यादव ।२८ चैत ,सिमरा : तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधि सर्लाही क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई १ रनले पराजित गर्दै सर्लाहीले उपाधि उचालेको हो ।फाइनल खेलमा चितवनलाई १ रनले पराजित गर्दै सर्लाहीले पहिलो सहभागितामै उपाधि हात पार्दै प्रभावशाली सुरुवात गरेको हो। टस जितेर पहिले फिल्डिङ रोजेको चितवनले सर्लाहीलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरमा सर्लाहीले ५ विकेट गुमाउँदै १६० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
सर्लाहीका लागि अलि हसनले ४८ बलमा ५३ रन बनाउँदै इनिङ सम्हाले भने जितेश मण्डलले १४ बलमै ३८ रनको आक्रामक योगदान दिए। आरिफ राजाले २८ र परिमार्जन यादवले २० रन जोडेका थिए। चितवनका बलरमध्ये दिपेश श्रेष्ठ सबैभन्दा सफल रहे। उनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। सुदिप आर्याल, सुमित शर्मा र प्रतीक श्रेष्ठले समान १/१ विकेट हात पारे। १६१ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले सुरुवातदेखि दबाब झेल्नुपर्यो। पहिलो ओभरमै चक्रधर यादवले डेनियल गुरुङलाई शून्यमा आउट गर्दै सर्लाहीलाई उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि चितवनका ब्याटरहरूले आक्रामक शैली अपनाउँदै खेलमा फर्किने प्रयास गरे पनि लक्ष्य भेट्टाउन सकेनन्।

निर्धारित २० ओभरमा चितवनले ५ विकेटको क्षतिमा १५९ रन मात्र बनाउन सक्यो। प्रतीक श्रेष्ठले ३७ बलमा ४७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। रोशन झाले ४३ रन, रिजन काफ्लेले ३१ रन र आर्य महतोले १६ रनको योगदान दिए। सर्लाहीका अलि हसन उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भए। साथै उनी नै प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि जितेश मण्डलले जित्दै ५ हजार रुपैयाँ पाए ।
उपाधिसँगै सर्लाहीले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता चितवनले ट्रफीसहित १ लाख रुपैयाँमा चित्त बुझायो। विजेता तथा उपविजेता टोलीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो।।चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न भएको हो।जीतपुरसिमरा स्पोर्ट्स क्लबका अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।

