असार ४, बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित चकरी जङ्गलमा हराएका एक गोठालाको शव बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको छ। मकवानपुर जिल्ला मनहरी गाउँपालिका घर भई हाल अमलेखगंजमा बसोबास गर्दै आएका करिब ५०–५५ वर्षीय चन्द्र बहादुर भुलन गत असार ३ गते बिहान ११:०० बजेको समयमा बिरबहादुर थिङको बाख्रा चराउने क्रममा करिब ३०–४० वटा बाख्रा लिएर चकरी जङ्गल पसेका थिए। तर, बेलुका घर नफर्किएपछि परिवार र स्थानीयवासीले खोजी सुरू गरेका थिए।
घटनापछि वडा अध्यक्ष सुबास श्रेष्ठको पहलमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा प्रहरी टोली तथा स्थानीय बासिन्दा सहितको खोजी कार्य प्रारम्भ गरिएको थियो। खोजीको क्रममा आज बिहान करिब ७:३० बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भुलनको शव बाघको आक्रमणमा परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
साथमा रहेका ३०–४० बाख्रामध्ये २७ वटा मात्र जिउँदो फेला परेका छन्।प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। यस घटनाले अमलेखगंज क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु सुरक्षाको विषयमा थप सचेत हुनुपर्ने आवश्यकता देखाएको छ।