१८ भदौं, सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाफलप्रति असन्तोष व्यक्त गर्दै बुधबार विशेष समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयमा कक्षा १० मा अध्ययनरत ८२ जना विद्यार्थीमध्ये केवल ८ जना मात्र उत्तीर्ण भएपछि विद्यालय प्रशासनले अभिभावकलाई नै बोलाएर परिणामबारे छलफल गरेको हो। प्रधानाध्यापक राजु सिंहका अनुसार उत्तीर्ण हुनेको संख्या निकै कम हुनु दुखद भएको र यसबाट विद्यालय मात्र नभई अभिभावक र विद्यार्थी सबैलाई आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ।
उनले अनुतीर्ण भएका विषयका शिक्षकलाई समेत अध्यापन पद्धतिमा सुधार गर्न निर्देशन दिएको जानकारी दिए।अभिभावकहरूबीच छलफल हुँदा धेरैले आफ्ना बालबालिकाले घरमा पर्याप्त अध्ययन नगर्ने स्वीकार गरे भने केहीले विद्यालयको कमजोर पठनपाठन पद्धतिले पनि विद्यार्थीको नतिजा कमजोर बन्न पुगेको धारणा राखे।विद्यालयको नतिजाबारे चिन्ता व्यक्त गर्दै अभिभावकहरूले आगामी एसईई परीक्षामा यस्तै स्थिति दोहोरिन नदिन विद्यालय र शिक्षक–विद्यार्थी सबैले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए।पछिल्ला वर्षहरूमा सो विद्यालयले कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको भए पनि यसपटकको तेस्रो त्रैमासिक नतिजाले विद्यालयको छवि चुनौतीपूर्ण बन्न पुगेको छ। विद्यार्थी संख्या दिनानुदिन बढ्दै गए पनि कक्षाकोठाको अभावसमेत थपिँदै गएको विद्यालय प्रशासनले जनाएको छ।