माघ ०३, सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नागौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। सहयात्री युवा क्लबको आयोजनामा, रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरको प्राविधिक सहयोग तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो। आँखा शिविरको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै ग्रामीण तथा पिछडिएका क्षेत्रसम्म यस्ता नि:शुल्क स्वास्थ्य शिविरहरू पुग्न जरुरी रहेको बताए।

उनले आँखाको समयमै परीक्षण र उपचारले मानिसको जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेल्ने भन्दै सामाजिक संस्थाहरूले स्वास्थ्य क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गरे। शिविरबाट जीतपुरसिमरा उपमहानगरपालिकाका २ सय ६५ जना स्थानीयवासी लाभान्वित भएका छन्। आँखा परीक्षण गराएका मध्ये ८५ जना बिरामीमा मोतियाबिन्दु देखिएको केडिया आँखा अस्पतालका चिकित्सक शिवशंकर प्रसाद साहले जानकारी दिए। त्यसैगरी ८ जनामा आँखामा मासु बढ्ने समस्या तथा ५५ जनामा दृष्टिदोष देखिएको उनले बताए।

मोतियाबिन्दु देखिएका बिरामीहरूको रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुरमा नि:शुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका वडा न ६ का वडाध्यक्ष कैमुदीन अन्सारीले जनाएको छ। सहयात्री युवा क्लबका अध्यक्ष राजाराम सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कैमुदीन अन्सारी, नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बुद्ध कुमारी अधिकारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।स्थानीयस्तरमा आयोजित यस्ता स्वास्थ्य शिविरहरूले नागरिकको स्वास्थ्य सचेतना बढाउनुका साथै उपचारबाट वञ्चित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।


