करैयामाई गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ब्लाङ्केट उपहार

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । चिसो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बाराको करैयामाई गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ब्लाङ्केट वितरण गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा गाउँपालिकाभरिका ८१ देखि ८२ वर्ष उमेर समूहका ५३ जना ज्येष्ठ नागरिकलाई न्यानो माया स्वरूप ब्लाङ्केट उपहार प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले ज्येष्ठ नागरिक आमा–बुबा हाम्रा जननी भएको उल्लेख गर्दै उनीहरूको सम्मान र आशीर्वाद सधैं आवश्यक रहने बताउनुभयो। चिसो मौसममा वृद्ध आमाबुवालाई केही राहत मिलोस् भन्ने उद्देश्यले ब्लाङ्केट वितरण गरिएको उहाँको भनाइ थियो।

साथै, बारा जिल्लामै हालसम्म कुनै पनि पालिकाले ज्येष्ठ नागरिक लक्षित भवन नबनाएको उल्लेख गर्दै अध्यक्ष यादवले आगामी आर्थिक वर्षमा छोराछोरीले साथमा राख्न नचाहने ज्येष्ठ नागरिकका लागि विशेष भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष सुनैना चौधरीले करैयामाई गाउँपालिका कार्ययोजना अनुसार निरन्तर काम गरिरहेको बताउँदै चिसोबाट जोगिन दाउरा वितरण गरिसकिएको र सोही अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई ब्लाङ्केट उपहार दिइएको जानकारी दिनुभयो।ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले राज्यस्तरबाटै ज्येष्ठ नागरिक सम्मान गर्ने नीति रहे पनि चिसो बढ्दै गएको अवस्थामा सीमित साधनस्रोतका बाबजुद गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ब्लाङ्केट वितरण गरिएको बताउनुभयो।

उहाँले स्थानीय नागरिकको मनोभावना बुझ्दै ज्येष्ठ नागरिक, अशक्त तथा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता सहज रूपमा उपलब्ध गराउन गाउँपालिकाले निरन्तर सहजीकरण गर्दै आएको जानकारी दिनुभयो। स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलगायत विभिन्न लक्षित कार्यक्रम सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो। चिसो बढेसँगै उमेर ढल्कँदै गरेका ज्येष्ठ नागरिकलाई बढी कठिनाइ हुने गरेको अवस्थामा गाउँपालिकाबाट न्यानो माया स्वरूप ब्लाङ्केट प्राप्त भएपछि ज्येष्ठ नागरिकहरूले खुशी व्यक्त गरेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय