जीतपुरसिमरा उपमहानगरपालिकाको १३ औँ हिउँदे अधिवेशन सम्पन्न, विधेयक र कार्यविधि पारित

पछिल्लाे समाचार

पुष ३० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाको १३ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित नगरसभामा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै संशोधित बजेट प्रस्तुत गरिएको हो। नगरसभामा विभिन्न विधेयक, ऐन, नियम, कार्यविधि तथा नगरकार्यपालिकाले गरेका निर्णयहरूमाथि विस्तृत छलफल गरिएको थियो। विकास निर्माण, सेवा प्रवाह र सुशासनसँग सम्बन्धित विषयहरूमा नगरसभा सदस्यहरूले उठाएका जिज्ञासा र सुझावलाई समेट्दै छलफल अघि बढाइएको थियो।

नगरसभाको १३ औँ अधिवेशनमा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा उपमहानगरपालिकामा भएका असल अभ्यास, योजना कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखा परेका समस्या तथा समाधानका उपायबारे विस्तृत जानकारी दिइएको थियो।
नगरसभामा उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेटलाई जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको जानकारी गराउनुभयो। नगरसभामा प्रस्तुत संशोधित बजेट, योजना तथा कार्यक्रमहरूले उपमहानगरपालिकाको समग्र विकासलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।

हिउँदे अधिवेशनका क्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै नगरप्रमुख राजन पौडेलले सार्वजनिक जग्गा संरक्षणमा जनप्रतिनिधिको मनोमानीका कारण समस्या सिर्जना भएको बताउनुभयो। उहाँले जीतपुर क्षेत्रमा अझै धेरै सडक निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै सडक अतिक्रमण गरी सञ्चालन हुने व्यापार हटाउन उपमहानगरपालिकाले सक्दो प्रयास गरे पनि प्रशासनले खेल्नुपर्ने भूमिका प्रभावकारी रूपमा नखेलेको गुनासो गर्नुभयो। अधिवेशनले एक विधेयक र तीन समितिका कार्यविधि पारित गरेको छ। पारित विधेयकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ रहेको छ। यस्तै विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८२, सुशासन समिति गठन तथा सञ्चालन कार्यविधि २०८२ र लेखा समिति गठन तथा सञ्चालन कार्यविधि २०८२ पनि पारित गरिएको हो। नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गरेका विधेयक र कार्यविधि पारित गर्ने प्रस्तावलाई नगरसभा सदस्यहरूले अनुमोदन गरेका थिए। विधायन समितिको संयोजकमा इन्दल हजरा चयन भएका छन् भने सदस्यमा नविन मैनाली, गरिब महतो र सुरेश यादव रहेका छन्।

सुशासन समितिको संयोजकमा सुशिलादेवी थरुनी चयन हुँदा सदस्यमा नुरुल्लाह अंसारी, दीपेन्द्र चौधरी र राकेश सुब्बा रहेका छन्। नगरप्रमुख पौडेलले विधेयक र कार्यविधि पारित भएको जानकारी गराउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारीसमेत सुरु भइसकेको बताउनुभयो। उहाँले बजेट निर्माणका लागि वडास्तरमा छलफल चलाउन नगरसभा सदस्यहरूलाई आग्रह गर्नुभयो।नगरसभाको उद्घाटन समारोहमा जीतपुरसिमरा–१६ का वडाध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा–१८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा–१० का वडाध्यक्ष सञ्जय पटेल र जीतपुरसिमरा–९ का वडाध्यक्ष मोतीलाल कुशवाहाले शुभकामना मन्तव्य राखेका थिए।शुभकामना मन्तब्य वडाध्यक्ष र कार्यापलिका सदस्यले आफ्नो वडाका समस्या समेत राखेका थिए ।हिउदे नगरसभामा वडाध्यक्ष, नगरसभा सदस्य लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय