अखिलेश यादव ।माघ ०६ सिमरा : बारा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारीको दर्ता प्रक्रिया पूरा भएसँगै चारै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार मैदानमा उत्रिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ७ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार बारा–१, २, ३ र ४ निर्वाचन क्षेत्रमा जम्मा १ सय १२ जना उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्।
सबैभन्दा बढी उम्मेदवारी बारा–४ मा परेको छ, जहाँ ३९ जनाले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, बारा–२ मा २९, बारा–३ मा २४ र बारा–१ मा २० जनाले उम्मेदवारी दर्ता गरिसकेका छन्।
यसपटकको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूको सक्रिय उपस्थिति देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।
साथै विभिन्न सामाजिक अभियन्ता, पूर्वराजनीतिक कार्यकर्ता र स्थानीय व्यक्तिहरू स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा छन्। स्वतन्त्र उम्मेदवारको संख्या बढेसँगै मत विभाजनको सम्भावना पनि बढ्दै गएको छ।
निर्वाचन अधिकृतका अनुसार मनोनयन दर्तापछि उम्मेदवारको योग्यताको जाँच सुरु हुनेछ। उजुरी परेमा छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने म्याद पूरा भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने छ। बाराका चारै निर्वाचन क्षेत्रमा निवर्तमान सांसदले पनि पुनः उम्मेदवारी दर्ता गरिसकेका छन्। बारा–१, ३ र ४ का निवर्तमान सांसदमध्ये सबै एमालेका उम्मेदवार रहेका छन्। यसबाहेक, जिल्ला बाहिरका उम्मेदवार पनि मैदानमा छन्।
पर्साबाट प्रदेश सांसद रहबर अन्सारीले बारा–४ बाट रास्वपा मार्फत उम्मेदवारी दर्ता गरेका छन् भने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले पनि बारा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
यसले बाराको चारै निर्वाचन क्षेत्रमा यसपटक रोचक र प्रतिस्पर्धात्मक निर्वाचन हुने संकेत गरेको छ।

