असार १४ जीतपुर : बाराको जीतपुरस्थित विशाल बजारमा गएराति फिल्मी शैलीमा चोरी भएको घटना सार्वजनिक भएको छ । चोरहरूको समूहले मुख्य ढोका वा ताल्चा नफोडी जस्तापाताको छाना काटेर र जस्ताकै ढोकाको नट खोलेर बजारभित्र प्रवेश गरी दर्जनौं पसलमा चोरी गरेको प्रारम्भिक जानकारी आएको छ । आइतबार बिहान व्यापारीहरू दैनिकझैं पसल खोल्न पुगेपछि चोरी भएको थाहा पाएर स्तब्ध बनेका थिए । घटनास्थलको अवस्था हेर्दा चोरहरूले निकै योजनाबद्ध रूपमा चोरी गरेको देखिएको स्थानीयले बताएका छन् । अझ रोचक र अचम्मलाग्दो पक्ष के देखिएको छ भने, चोरहरूले चोरीका क्रममा हतार नगरेको संकेत भेटिएको छ । बजारभित्र रहेको चटपटे पसलमा आफैंले चटपटे बनाएर खाएको र त्यसपछि नजिकैको बिर्यानी पसलमा गएर खाना समेत खाएको विवरण खुलेको छ । त्यति मात्र होइन, उनीहरूले इनर्जी ड्रिंक्स र रेडिमेड कपडासमेत साथमा लगेको बताइएको छ ।
चोरहरूले आफ्नो पहिचान लुकाउन अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरा उखेलेर साथमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा नगदसहित लाखौं रुपैयाँ बराबरको सामान चोरी भएको अनुमान गरिएको भए पनि यकिन विवरण आउन बाँकी रहेको छ । यता इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलाले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभएको छ । उहाँका अनुसार विभिन्न स्थानका सीसीटीभी फुटेज संकलन भइरहेको छ र दुई जना शंकास्पद व्यक्ति फुटेजमा देखिएकाले उनीहरूको खोजी कार्य जारी रहेको छ । यस घटनाले जीतपुर क्षेत्रका व्यापारीहरूमा त्रास र सुरक्षा चिन्ता बढाएको छ ।घटनाको खबर पाए लगतै जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका पदाधिकारीहरुले घटनास्थलको निरीक्षण गरेको छ ।

