असार १४ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले आधुनिक प्रशासनिक भवन निर्माणसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारको प्रमुख उद्देश्य नागरिकलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै पूर्वाधार विकाससँगै सेवा प्रवाहको गुणस्तरमा पनि निरन्तर सुधार गरिने बताउनुभयो।
उपप्रमुख अधिकारीले नवनिर्मित भवनले वडा कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउनुका साथै नागरिकले सहज वातावरणमा सेवा प्राप्त गर्ने आधार तयार भएको बताउनुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारीको समन्वयबाट नागरिकको अपेक्षाअनुसार सेवा प्रदान गर्न सबै पक्ष प्रतिबद्ध रहेको धारणा राख्नुभयो। वडा नं. १ का वडाध्यक्ष हिरा बहादुर गुरुङले नयाँ भवन निर्माणसँगै वडावासीलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिने जिम्मेवारी अझ बढेको बताउनुभयो। उहाँले भवन निर्माणमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा वडाको समग्र विकास र जनसेवालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू अझ प्रभावकारी, सहज, छिटोछरितो तथा सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरिएको छ। नयाँ भवनले वडा नं. १ का नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

