सार्वजनिक सुनुवाइमा स्थानीयद्वारा र्याखर्याख्ती

पछिल्लाे समाचार

     हेटौंडा– “हाम्रो गाउंमा सर्पले टोकेर अस्पताल लगेका मान्छे ५ दिनदेखि आईसीयुमा छन्,’ मनहरीकी सिर्जना बिडारीले प्रश्न गरिन्–पालिकाले हाम्रै अस्पतालमा सर्पदंशको सुईको व्यवस्था गर्न सक्दैन ?
     बिडारीको जिज्ञासामा समर्थन जनाउंदै राजकुमार ढकालले भने–सर्पदंशसंगै रेबिजको सुईको व्यवस्था पनि पालिकाले गर्न सकेको छैन । रेबिज र सर्पदंशविरुद्ध सुई मनहरी अस्पताल र स्वास्थ्य चौकीमा राख्न उनीहरुले जोड दिए ।
     सर्पदंश र रेबिजविरुद्ध सुईको सबाल उठेपछि मनहरी गाउंपालिका उपाध्यक्ष मनिला बिष्ट र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले मनहरी अस्पतालमा त्यसको व्यवस्थापन गर्न सकिने भन्दै अब हुने कार्यपालिका बैठकमा विषय प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरे । मनहरी गाउंपालिकाभित्र देखापरेका बेथितिबारे नागरिकले आलोचनात्मक टिप्पणी गरेका हुन् । अनौपचारिक क्षेत्र सेवाकेन्द्र इन्सेक, डब्लुपीडी नेपालको सहयोगमा मानवअधिकार समूह मनहरी गाउंपालिकाले गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विभिन्न विषयमा गाउंपालिकाको ध्यानाकर्षणसहित सरोकारवालालाई र्याखर्याख्ती पारे ।
     उनीहरुले पालिकामा ठूला विकास निर्माणका कामहरुका चर्चा हुने गरे पनि सामान्यभन्दा सामान्य कुरामा ध्यान दिन नसकेको आरोप लगाएका थिए । कार्यक्रममा सहभागीहरुले वडा–३ को कार्यालयमा अपांगता परिचयपत्र बनाउन कर्मचारीहरुले उचित सहजीकरण नगरिदिंदा १ महिना धाउनुपरेको प्रसंग उठाए ।
वडा–७ मा हिंसापीडित व्यक्तिले न्यायका लागि वडास्थित मेलमिलाप समितिमा निवेदन दिए पनि समयमै सम्बोधन नहुंदा पीडा सहेर बस्न बाध्य भएको र दुई महिनापछि मात्र न्यायिक समितिमा पुगेपछि न्याय पाएको सन्दर्भ उठान गरे ।
     समूहका नामबाट गाउंपालिका तथा अन्य निकायहरुबाट कृषियन्त्र पाएकाहरुले एकलौटी व्यवसाय गर्ने गरेको र समूहलाई समेत चर्काे शुल्क लिएर कुटानीपिसानी गरिरहेको प्रसंग पनि उठेको थियो ।
वडा–३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका केही शिक्षकहरु विद्यालय सञ्चालन हुंदासमेत ११ बजेसम्म बस्तीपुरतिर भेटिने गरेको भन्दै एक सहभागीले भने–४/५ वर्षदेखि अभिभावक भेला भएको पनि थाहा हुन छाड्यो, विद्यालयका शौचालयमा गुट्खा र परागका खोल भेटिन छाडेनन् ।
     मनहरीमा धुमधामसाथ अस्पताल शिलान्यास भयो । अब कहिले बन्छ भनेर मानवअधिकार समूहका सदस्य प्रह्लाद लम्सालले प्रश्न गरे भने विद्यालय मर्ज गर्ने कुरा कुरामै सीमित भएको भन्दै उनले व्यङ्ग्य कसे । पालिकाले समूह र सहकारीमार्फत् बिउ बितरण गर्ने कार्य प्रभावकारी नभएको र २०२४ सालताकाकै “पातमा बिउ बांढ्ने चलन” ले निरन्तरता पाएको उनको तर्क थियो ।
    पालिकाभित्र अनुदानको गाई बितरणमा पनि पारदर्शिता नरहेको र बितरित गाईको दूध संकलनलगायत व्यापारिक प्रयोजनको अनुगमन गर्ने संयन्त्र नभएको भन्दै सहभागीले समूह र सहकारीमा नरहेका व्यक्तिहरुले अनुदान र सहुलियत नपाएको गुनासो गरेका  छन् । डिजिटल हाजिरीको व्यवस्थापन चुस्तदुरुस्त गर्नुपर्ने भन्दै पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले अनलाइन माध्यमबाट गाउंपालिकाबाटै  विद्यालय अनुगमन गर्नुपर्ने धारणा राखे ।
    उठेका सवालहरुको जवाफ दिंदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले कर्मचारीका सम्बन्धमा उठेका सवालबारे आफूले तत्काल एक्सन लिने बताए । उपाध्यक्ष बिष्टले राम्रा सुझावहरु प्राप्त भएको भन्दै आगामी दिनमा सार्वजनिक सुनुवाइमा उठेका सवालले मार्ग निर्देशन गरेको बताइन् । उनले नागरिक समाजले स्थानीय तहलाई सचेत पारिरहनुपर्नेमा जोड दिइन् ।
    कार्यक्रममा उठेका सवालहरुबारे कृषि प्राविधिक उज्ज्वल रानामगर, पशु प्राविधिक बरुण ठाकुर, स्वास्थ्य संयोजक टीकाराम अधिकारी, शिक्षा संयोजक हरिचन्द्र सापकोटालगायतले प्रष्ट पारेका थिए । कार्यक्रम मानवअधिकार समूह मनहरी अध्यक्ष बिमला गोपालीको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमबारे इन्सेक बागमती प्रदेश प्रमुख कृष्ण गौतमले जानकारी गराएका थिए । कार्यक्रममा ५ नम्बर वडा सदस्य इन्द्रकुमारी मिजार, इन्सेककी प्रतीक्षा खड्का, मानवअधिकार समूहका सचिव दीपेन्द्र अधिकारी, सहजकर्ता सलिना गौतमलगायतको सहभागिता थियो भने सहजीकरण मानवअधिकार समूह सदस्य शिवकुमार काशीले गरेका थिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय