अखिलेश कुमार यादव ।३० कार्तिक । सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १० ले ७ वर्षपछि आफ्नै कार्यालय भवन पाएको छ। नवनिर्मित भवनको पूर्व मन्त्री किसान श्रेष्ठ, प्रदेश सभा सदस्य देवनारायण चौधरी , नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले शिलापत्र अनावरणसहित रिबन काटेर समुद्घाटन गरेका हुन्।वडा कार्यालय भवन जीतपुरसिमरा उपमहानगरपालिकाको १ करोड रुपियाँको लागतमा निर्माण गरिएको वडाध्यक्ष संजय प्रसाद पटेलले जानकारी दिनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को वडा कार्यालय भवन संचालनमा आए पछि स्थानीयहरु खुशी भएका छन् । साघुरो भवन बाट सेवा दिदै आएको वडा कार्यालयले आफ्नै भवन निर्माण गरेर संचालनमा ल्याए पछि सेवाग्राहीहरु खुशी भएका छन् ।एउटा कोठा भएको कच्ची भवन बाट वडा कार्यालय संचालन भईरहेको बेला सेवा लिन जाने सेवाग्राहीहरुलाई सास्ती खेप्नु परिरहेको थियो तर अब वडाले आफ्नै नवनिर्मित २ तल्ले वडा कार्यालय भवन संचालनमा ल्याए पछि सेवाग्राहीहरुले सहज भएको छ ।
बर्षाको समय र घामको समयमा पुरानो वडा कार्यालय भवनमा सेवा लिन जादा कठिनाई हुने गरेको र बस्ने समेत ठाउँ नभएको तर अहिले निर्माण भएको वडा कार्यालय सुबिधा सम्पन्न भएकोले सेवा लिन जादा जनतालाई धेरै सहज हुने वडा सदस्य गरिब महतोले बताउनुभयो ।वडा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं बारा क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममै बोल्दै नगरप्रमुख राजन पौडेलले २४ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख पौडेलले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’नगर उप–प्रमुख भोला प्रसाद अधिकारीले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’
मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले ऐतिहासिक वडा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । वडा नम्बर १० का वडा अध्यक्ष संजय प्रसाद पटेलले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए।उक्त वडा कार्यालय भवन उद्घाटन कार्यक्रमा पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा नेकपा एमालेको युवा नेता त्रिलोक बिक्रम साह ठकुरी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।वडा कार्यालय भवन उद्घाटन कार्याक्रममा नेकपा यसका पोल्युटब्युरो सदस्य दिनेश राई,युवा नेता सन्तोष कुशवाहा लगाएत वडा सदस्य र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन वडा सचिव कृष्णा चौधरीले गर्नुभएको थियो ।