अपाङ्गता क्षेत्रमा सक्रियता बढाउँदै जीतपुरसिमरा उपमहानगर, १७ सहायक सामग्री वितरण

पछिल्लाे समाचार

मंसिर १७ सिमरा ः बाराको जीतपुरसिमरा उप–महानगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। मङ्गलबार निःशुल्क स्वास्थ्य शिविरबाट सुरु गरिएको दिवस अन्तर्गत बुधबार प्रभातफेरी, सहायक सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा नगरप्रमुख राजन पौडेलले उपमहानगरले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै निरन्तर काम गर्दै आएको बताए। अपाङ्गता क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँगको परामर्श र सुझावका आधारमा उपमहानगरका भौतिक संरचना अपाङ्गमैत्री बनाउने तयारी भइरहेको उनले बताए।

ब्रेन लिपि शिक्षकको पदपूर्ति छिट्टै गरिने प्रतिबद्धता पनि नगरप्रमुख पौडेलले व्यक्त गरे। त्यसपछि बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारीले सामाजिक संघ–संस्थासँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गरिएको र सीमित स्रोत–साधनका बीच पनि उपमहानगरले अपाङ्गता भएका व्यक्तिहरूका मागअनुसार सहायक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए। अपाङ्गता क्षेत्रमा अन्य पालिकाको तुलनामा प्रभावकारी काम गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईले अपाङ्गता भएका व्यक्तिहरू अझै पनि घरभित्रै थुनिनुपर्ने अवस्था देखिनु दुःखद रहेको बताए। समाज र प्रत्येक जिम्मेवार निकायले पहलकदमी लिए मात्र अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित हुने उनको भनाइ थियो। ब्रेल शिक्षक पदपूर्ति १–२ महिनाभित्र गर्ने प्रक्रियामा रहेको उनले बताए। भौतिक पूर्वाधार निर्माणमा अपाङ्गमैत्री मापदण्ड लागू गर्ने विषयमा उपमहानगरले विशेष ध्यान दिने पनि उनले उल्लेख गरे। यसपछि नेपाल अपाङ्ग संघ, बाराका अध्यक्ष गङ्गा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूका हकहितको विषयमा धेरै बोलिने तर व्यवहारमा त्यसको सुनिश्चितता नभएको टिप्पणी गरे। श्रोत केन्द्र संचालन रहे पनि उपमहानगरले आवश्यक सहयोग नगरेको बताए। सहायक सामग्री वितरणमा मापदण्डअनुरूपता कायम राख्न समेत उनले दाबी गरे।

जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले दृष्टिबिहीन कक्षामा ‘बेल शिक्षक’ अभावले शैक्षिक प्रक्रिया प्रभावित भएको भन्दै समस्या छिटो समाधान गर्न उपमहानगरसँग आग्रह गरे। कार्यक्रमका क्रममा जम्मा १७ वटा अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ । २ वटा बैसाखी ,२ वटा ट्राइसाइकल ,१३ वटा ह्वीलचेयर वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको महिला सामाजिक बिकाश शाखा प्रमुख सिमा यादवले जानकारी दिए । उक्त अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय