साझा अभियान अन्तर्गत बाराका ८० बालबालिकालाई न्यानो स्विटर वितरण

पछिल्लाे समाचार

पुष ०६ सिमरा : विगत पाँच वर्षदेखि जाडोयाममा विपन्न तथा लक्षित वर्गका नागरिक र बालबालिकालाई न्यानो कपडा वितरण गर्दै आएको ‘साझा अभियान’ ले यस वर्ष पनि आफ्नो मानवीय सेवा यात्रालाई निरन्तरता दिएको छ। ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको ‘साझा अभियान २०८२’ को सुरुवात बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री सरस्वती आधारभूत विद्यालय बाट गरिएको हो।

अभियानअन्तर्गत बढ्दो चिसो र शीतलहरका कारण विद्यालय आउन कठिनाइ भोगिरहेका विद्यालयका ८० जना बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको छ। विद्यालयका प्रधानाध्यापक रुद्र ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नुका साथै शिक्षाप्रति उनीहरूको उत्साह बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियन्ताहरूले बताएका छन्। कार्यक्रममा अभियानका मुख्य अभियन्ताहरू अमृत बस्याल, उषा बुढाथोकी प्रसाईं, सुशील शर्मा, सुरेश राज के.सी. र गणेश धिमाल लगायतको सक्रिय सहभागिता रहेको थियो।

अभियन्ताहरूका अनुसार केही वर्षअघि पर्सा जिल्लाको पर्सागढीबाट सुरु गरिएको यो अभियानले पछिल्ला वर्षहरूमा बारा जिल्लाका विभिन्न वडाहरूमा सेवा विस्तार गर्दै आएको छ। हाल नगर तथा जिल्लामा केन्द्रित अभियानलाई आगामी दिनमा देशव्यापी मानवीय सेवा अभियानका रूपमा विस्तार गर्ने लक्ष्य रहेको जनाइएको छ। चिसोका कारण कोही पनि नागरिक विशेषगरी अपाङ्ग, वृद्ध तथा बालबालिका शिक्षा र आधारभूत अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने अभियानको मूल उद्देश्य रहेको छ। कार्यक्रममा सहभागी अभियन्ता भुवन थापा ले सबै नागरिकलाई यस मानव कल्याणकारी अभियानमा हातेमालो गर्न हार्दिक अपीलसमेत गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय