“बाढीपहिरो” बागमती प्रदेशमा २५ जनाको मृत्यु

पछिल्लाे समाचार

हेटौंडा–बागमती प्रदेशका बिभिन्न जिल्लामा असारमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । उक्त अवधिमा बाढीपहिरोका कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात छ ।

बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुलीलगायत जिल्लाका १ हजार ५४ घरधुरी प्रभावित भएका छन् । बागमती प्रदेशका बिभिन्न जिल्लाहरुमा २०७७ सालको यही अवधिमा बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २० जना थियो । गत वर्षको सोही अवधिमा प्रदेशका ४३ घरपरिवार बाढीका कारण प्रभावित भएका थिए ।

गत वर्ष र यस वर्ष एकै अवधिमा बाढीपहिरोका कारण भएको क्षतिलाई समग्ररुपमा तुलना गर्दा यस वर्ष क्षति ९३ प्रतिशत्ले बढी भएको देखिन्छ । सुरुवात चरणमै मनसुन गत वर्षको भन्दा सक्रिय भएका कारण यस वर्ष क्षति बढी भएको बामगमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेशमा यसवर्ष बाढीपहिरोका कारण ७ जिल्ला बढी प्रभावित भएका छन् । प्रभावित जिल्लाको अग्रस्थानमा सिन्धुपाल्चोक छ । यस वर्ष सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण ५ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका छन् । बाढीपहिरोमा २० जना बेपत्ता भएका छन् । असार १ गतेबाट आएको बाढीपहिरोले सिन्धुपाल्चोकका ५ सय ५५ घरपरिवारप्रभावित भएका छन् ।

बाढीपहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु राहत तथा उद्धारमा सक्रियरुपमा संलग्न भइरहेका छन् । बाढीपहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका भौतिक सम्पति निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

बाढीपहिरोका कारण अवरुद्ध हुनसक्ने राजमार्गलाई तत्काल सुचारु गर्नेतर्फ प्रहरीले आफ्नो ध्यान केन्द्रित गरेको छ । असारमा बागमती प्रदेशका बिभिन्न जिल्लाका ८५ स्थानमा पहिरोका कारण अवरुद्ध ७ किलोमिटर भन्दा बढी सडक प्रहरीले सक्रियतामा खुलाइसकेको छ ।

बाढीपहिरोबाट क्षति हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गरी प्रदेश सरकार र बिभिन्न स्थानीय तहहरुसँग समन्वय गरी जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कार्य भइरहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयको प्रस्तावअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बाढीपहिरोका कारण निम्तिने विपद्को प्रतिकार्यका लागि आवश्यक पर्ने उद्धारसामग्री खरिद गरि बिभिन्न प्रहरी युनिटलाई बितरण गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको विपद् व्यवस्थापन गुल्ममा भएको जनशक्तिलाई बाँडफाँट गरी प्रहरी नायव निरीक्षकको कमाण्डमा काभ्रे र नुवाकोटमा २५ हजार ९ सय २५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी कर्मचारीलाई विपद् उद्धारसम्बन्धि प्रशिक्षण प्रदान गर्नुका साथै आपत्कालीन अवस्थामा तुरुन्त प्रहरी परिचालन हुने गरी स्याण्डबाई राखिएको छ ।

मनसुनको सक्रियतासँगै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बाढिपहिरोका कारण बढी क्षति हुनसक्ने सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली, काभ्रे, नुवाकोट, रामेछापलगायत जिल्लालाई केन्द्रमा राखी प्रहरी परिचालन गरेको छ ।

नेपालमा असार, साउन र भदौलाई मनसुन अवधि भनिन्छ । मनसुन अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्दछ । तर, यस वर्षको मनसुनमा त्यसभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । त्यसैले वर्षा लागेसँगै होचा स्थानहरुमा डुबान हुनसक्ने र भिरालो स्थानमा पहिरोको जोखिम हुने भएकाले सचेत र सुरक्षित रहन नागरिकहरुलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय