बैशाख १४ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ मा नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक समारोहबीच औपचारिक उद्घाटन गरिएको छ। मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले रिबन काट्दै भवन उद्घाटन गरेपछि वडाले आफ्नै संरचनाबाट सेवा प्रवाह सुरु गरेको हो। स्थानीय तह स्थापना भएको झन्डै ९ वर्षपछि वडा नं. ६ ले भाडाको भवनबाट सेवा दिने बाध्यता अन्त्य गर्दै सुविधा सम्पन्न आफ्नै कार्यालयमा सरेको छ। पाँच कोठे आधुनिक संरचनामा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, छरितो र पहुँचयोग्य हुने अपेक्षा गरिएको छ।
वडाध्यक्ष कैमुदिन अन्सारीले आफ्नै भवनबाट सेवा दिन पाउँदा कर्मचारी र वडाबासी दुवै उत्साहित भएको बताए। “साँघुरो र सीमित संरचनाबाट सेवा दिनुपर्ने अवस्था अब समाप्त भएको छ। अब व्यवस्थित रूपमा सेवा दिन सकिने भएको छ, यो वडाबासीका लागि ठूलो उपलब्धि हो,” उनले भने।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले स्थानीय तहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। “संरचना बलियो भए सेवा पनि बलियो हुन्छ। जनताको नजिकको सरकारलाई थप जिम्मेवार र परिणाममुखी बनाउन यस्ता पूर्वाधारले ठूलो टेवा पुर्याउँछ,” उनले बताए।
कार्यक्रममा नगरप्रमुख राजन पौडेलले उपमहानगरभित्रका २४ वडामध्ये २३ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आइसकेको जानकारी दिए। वडा नं. २४ को भवन साइड क्लियरेन्सका कारण उद्घाटन हुन बाँकी रहेको उनले स्पष्ट पारे। “हामी प्रविधिमैत्री र सेवामैत्री प्रशासनतर्फ अघि बढिरहेका छौँ। आफ्नै भवनबाट सेवा दिन थालेपछि नागरिकले सहज र छरितो सेवा पाउनेछन् भन्ने हाम्रो विश्वास छ,” उनले भने। उपमहानगरपालिकाको करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनमा आवश्यक भौतिक सुविधा व्यवस्थापन गरिएको छ। भवन निर्माणका लागि जग्गा दान गर्ने बदरुल होदा अन्सारी र समिम रेजा अन्सारीलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उद्घाटन कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।

