सस्तो भाडाले तान्यो लगानी, सिमरा सेजमा उद्योग विस्तार तीव्र

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । बैशाख १३ सिमरा ः सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) अहिले एकाएक उद्योगीहरूको आकर्षणको केन्द्र बनेको छ। मुख्य कारण जग्गा भाडादरमा गरिएको ठूलो कटौती बनेको छ । सरकारले चालु आर्थिक वर्षको पुसदेखि लागू हुने गरी प्रतिवर्गमिटर २० रुपैयाँ रहेको भाडा घटाएर ५ रुपैयाँमा झारेपछि उद्योगीहरू उत्साहित मात्र भएका छैनन्, अवसर समाउन दौडिएका छन्।
सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार भाडादर ७५ प्रतिशतले घटेपछि उद्योग दर्ता र अनुमति लिन आउनेको संख्या ह्वात्तै बढेको छ। जग्गा नै अब बाँकी नरहेको तर उधोग संचालन गर्न आउनेको भिड अहिले पनि न रोकेको उनले बताए ।

सिमरा सेजको ‘ए ब्लक’ मा १०५ वटा ब्लक छन् । प्रतिब्लक १७ कट्ठादेखि १ बिघा क्षेत्रफलको छ । ए ब्लकको ३४३ बिघा क्षेत्रफलमध्ये बाँकी जग्गामा भने उद्योग मन्त्रालयले ५ अर्ब भन्दा बढीको लगानीमा सेजको कार्यालय, बैंक, बीमा, भन्सार, सभाहल लगायतका संरचना निर्माण गरेको साईत इन्जिन्नियर गिरीले बताए । हाल सेजभित्र ६ वटा उद्योग सञ्चालनमा छन् भने १२ वटा निर्माणाधीन अवस्थामा छन्। थप १३ उद्योग सम्झौताको प्रक्रियामा छन्। नेपाल मात्र होइन, भारत, चीन र कोरियाका लगानीकर्ताहरूले समेत यहाँ चासो देखाएका छन्। अहिलेसम्म सेजले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५ हजार जनालाई रोजगारी दिएको छ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यो संख्या १० देखि १५ हजार पुग्ने अनुमान छ। यसको अर्थ, सेज केवल उद्योग क्षेत्र मात्र होइन, रोजगारीको ठूलो आधार बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।

भाडा घटेपछि केही राहत भए पनि उद्योगीहरू पूर्ण रूपमा सन्तुष्ट छैनन्।नेपाल एग्रो टूल्स प्रालिका संचालक मनोज रौनियार भन्छन्—सबैभन्दा ठूलो समस्या अझै पनि विद्युत् आपूर्ति नै हो। अनियमित बिजुलीका कारण महिनामा लाखौं रुपैयाँ डिजेलमा खर्च गर्नुपरेको छ।उनले सेजको एउटा सानो कामकोलागि समेत काठमाडौँ जानु पर्ने गरेको बताए ।बैंक पेट्रोल पम्प धर्म कट्टा अहिले सम्म संचालन नहुदा समस्या भएको रौनियारले बताए ।त्यससँगै कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार, निर्यातमा भ्याट छुट, र सेजभित्रै बैंकिङ तथा प्रशासनिक सुविधा दिने सरकारी प्रतिबद्धता व्यवहारमा पूर्ण रूपमा लागू नभएको उद्योगीहरूको भनाइ छ।

सिमरा सेज अहिले अवसर र चुनौती दुवैको संगम बनेको छ। एकातिर सस्तो भाडाले लगानी तानिरहेको छ, अर्कोतर्फ पूर्वाधार र नीतिगत कमजोरीले गति रोकिरहेको छ। यदि सरकारले घोषणा गरेका सुविधा प्रभावकारी रूपमा लागू गर्न सक्यो भने, सिमरा सेज नेपालको औद्योगिक नक्सामा गेम चेन्जर बन्न सक्छ। होइन भने, बढ्दो उत्साह केही वर्षमै निराशामा बदलिन सक्छ।पशुपति सेरामिक्स, लक्ष्मी ग्रेनाइट, बालाजी म्यानुफ्याक्चरिङ, नेपाल एग्रो टुल जस्ता उद्योगले उत्पादन सुरु गरिसकेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय