पसाहा नदीमा पुल नबन्दा ६ सय घरधुरी समस्यामा, वर्षायाममा रामनगर–रघुनाथपुर सम्पर्कविहीन

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । १८ जेठ,सिमरा : बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १७ अन्तर्गत पर्ने रामनगर र रघुनाथपुरका स्थानीयवासी वर्षौँदेखि पुल अभावको समस्याबाट पीडित बनेका छन्। जैतापुर र रामनगर जोड्ने पसाहा नदीमा हालसम्म पुल निर्माण हुन नसक्दा स्थानीयहरूले दैनिक आवतजावतदेखि सरकारी सेवा लिनसम्म कठिनाइ भोग्दै आएका छन्।स्थानीयका अनुसार वर्षायाममा पसाहा नदीमा बाढी आएपछि रामनगर र रघुनाथपुरका करिब ६ सय घरधुरी उपमहानगरपालिकाको केन्द्र जीतपुर तथा वडा कार्यालयको सम्पर्कबाट समेत विच्छेद हुने अवस्था सिर्जना हुने गरेको छ। हलुका सवारी साधन सञ्चालन गर्नसमेत समस्या हुने भएकाले सामान्य कामका लागि पनि नागरिकहरूले ठूलो सास्ती व्यहोर्नुपरेको छ।

स्थानीय वृद्धा बसन्ती चौधरीले आफू ७५ वर्ष पुग्दासमेत पसाहा नदीमा पुल बनेको देख्न नपाएको गुनासो गरिन्। पुल अभावका कारण बालबालिकाको ओहोरदोहोरमा निकै समस्या हुने गरेको बताउँदै उनले पटक–पटक नेताहरूलाई जिताए पनि समस्या समाधान नभएको दुखेसो पोखिन्। त्यस्तै अर्की स्थानीय अम्बिका दाहाल अर्यालले पुल नहुँदा विशेषगरी वर्षाको समयमा विद्यालय जाने विद्यार्थीहरू प्रभावित हुने गरेको बताइन्। उनले समयमै पुल निर्माण गरी स्थानीयवासीको समस्या समाधान गर्न सरकारसँग माग गरिन्अ भावको असर शिक्षा क्षेत्रमा समेत परेको छ। रघुनाथपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन भुसालका अनुसार ठूलो वर्षा र बाढीका बेला विद्यार्थीहरूको विद्यालय उपस्थितिमा कमी आउने गरेको छ। साथै बाहिरबाट आउने शिक्षक–शिक्षिकालाई विद्यालय पुग्नसमेत कठिनाइ हुने गरेको उनले बताए।

यता वडा नम्बर १७ का वडा अध्यक्ष भीमबहादुर गन्तानले समेत नदीका कारण आफू पटक–पटक वडा कार्यालय पुग्न नसकेको अनुभव सुनाए। सम्बन्धित निकायहरू यस समस्याबारे जानकार भए पनि समाधानका लागि अहिलेसम्म ठोस पहल हुन नसकेको उनको भनाइ छ। स्थानीयवासीहरू भने प्रत्येक निर्वाचनमा पुल निर्माणको आश्वासन दिने नेताहरू चुनावपछि गाउँ फर्केर समेत नआउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। वर्षौँदेखि पुल निर्माणको माग उठाउँदै आए पनि काम अघि नबढ्दा रामनगर र रघुनाथपुरवासी निराश बनेका छन्। स्थानीयहरूले अब आश्वासनभन्दा पनि तत्काल पुल निर्माणको काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। पुल निर्माण भए यस क्षेत्रका नागरिकको आवतजावत, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा पहुँच सहज हुने विश्वास उनीहरूको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय