असार १६ सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले हालै सर्पदंशका कारण दुई बालिकाको ज्यान गएको घटनापछि समुदायस्तरमा सर्पदंश रोकथाम र उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न “घर–घरमा नगर अस्पताल” कार्यक्रमलाई तीव्रता दिएको छ। यसअन्तर्गत मंगलबार उपमहानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा सर्पदंशको उपचार तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स्थानीय बासिन्दालाई वर्षायाममा सर्पबाट कसरी सुरक्षित रहने, घर वरपरको वातावरण कसरी सफा राख्ने, सर्पले टोकेपछि अपनाउनुपर्ने सही प्राथमिक उपचार तथा झारफुक वा घरेलु उपचारमा अल्मलिनुको सट्टा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जाहिद हुसेन देवानले सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि गर्न हुने र नहुने काम तथा समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिने भएकाले ढिलाइ नगर्न आग्रह गरे। उनले सर्पदंशलाई सामान्य रूपमा नलिन र कुनै पनि घटना भए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा आउन स्थानीयलाई अनुरोध गरे।
उपमहानगरपालिकाले गएको हप्ता सर्पदंशका कारण दुई बालिकाको ज्यान गएको घटनालाई गम्भीर रूपमा लिँदै जोखिम बढी रहेका बस्तीहरूमा घरदैलोमार्फत सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ।।यसै अभियानअन्तर्गत बुधबार वडा नम्बर १४ का विभिन्न टोलमा पनि सर्पदंशसम्बन्धी उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरले वर्षायामभर जोखिमयुक्त वडाहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ।

