असार १८ जनकपुरधाम। बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाल समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी जनमत पार्टीले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका टुक्रे योजना समेटिएको बजेट ल्याएर संघीयताप्रति जनतामा वितृष्णा बढाउन खोजेको आरोप लगाउनुभयो। उहाँले बजेट संशोधन नभएसम्म दुवै प्रतिपक्षी दलले सदन चल्न नदिने अडान दोहोर्याउनुभयो।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन गर्न वा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै त्यसअघि सदन सञ्चालन हुन नदिने बताउनुभयो। प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको छ। यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन सकेको थिएन।

