घर–घरमा नगर अस्पताल कार्यक्रम प्रभावकारी बन्दै , २ महिनामै १४ हजारभन्दा बढीले लिए सेवा

पछिल्लाे समाचार

असार १८ सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘घर–घरमा नगर अस्पताल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। वैशाख १७ गतेदेखि सुरु गरिएको कार्यक्रम हालसम्म उपमहानगरका १७ वटा वडामा सम्पन्न भइसकेको छ। नगरप्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा सञ्चालन भइरहेको कार्यक्रमबाट विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दा, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले अस्पतालसम्म पुग्न नसक्ने नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्करका अनुसार कार्यक्रमअन्तर्गत नगर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकसहितको टोलीले वडा–वडामा पुगेर घरमै स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गर्दै आएको छ। आर्थिक अभाव, वृद्धावस्था वा शारीरिक अवस्थाका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकलाई लक्षित गरी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।

जनस्वास्थ्य निरिक्षक जाहिद हुसेन देवानका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोगहरूको समयमै पहिचान, उपचार सेवाको पहुँच विस्तार तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हो। साथै उपमहानगरभित्र सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा रहेको र स्वास्थ्य बीमा सेवा पनि लागू भइसकेको विषयमा नागरिकलाई जानकारी गराउने उद्देश्यले समेत कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ। उपमहानगरपालिकाका अनुसार कार्यक्रम सञ्चालन भएको दुई महिनाको अवधिमा १७ वटा वडाका १४ हजार २ सय ४८ जना नागरिकले सेवा लिइसकेका छन्।उपमहानगरपालिकाले आगामी दिनमा ‘घर–घरमा नगर अस्पताल’ कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै सबै वडामा नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय