अखिलेश कुमार यादव। साउन २४ सिमरा : नेपाल विद्युत प्राधिकरण, सिमरा वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलन वृद्धि, विद्युत चुहावट न्यूनीकरण तथा विद्युत वितरण प्रणाली सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर माधव महतले गत आर्थिक वर्षमा केन्द्रले ५ अर्ब १९ करोड ९१ लाख ७१ हजार ३ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा केन्द्रले ४ अर्ब ४२ करोड ८१ लाख १४ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। राजस्व संकलन दर ८६ दशमलव १० प्रतिशतबाट बढेर ८७ प्रतिशत पुगेको उहाँले बताउनुभयो। डेडिकेटेड लाइनको बक्यौता बाहेक राजस्व संकलन दर शतप्रतिशतभन्दा बढी रहेको उहाँको भनाइ छ ।
कार्यालय प्रमुख महतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ८ सय ८० नयाँ ग्राहक थपिएका छन्। मिटर अभावका कारण अपेक्षाअनुसार ग्राहक थप्न नसकिए पनि औद्योगिक क्षेत्रबाट सबैभन्दा बढी राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो। उहाँले हाल ७७ करोड ८३ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको र लाइन काट्ने अभियानमार्फत ११ करोड ६० लाख रुपैयाँभन्दा बढी बक्यौता असुल गरिएको बताउनुभयो। विद्युत चोरी नियन्त्रण अभियानबाट थप ९१ हजार ६ सय ८० रुपैयाँ राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो।
इन्जिनियर महतले अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत चुहावट २ दशमलव ४१ प्रतिशतबाट घटेर २ दशमलव ६ प्रतिशत मा झरेको र चुहावट ० दशमलव ३५ प्रतिशतले घटेको बताउनुभयो। राजस्व संकलनमा पनि ० दशमलव ९० प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ। उहाँका अनुसार वितरण केन्द्रले सेवा सुधारका लागि ११ केभीको नयाँ फिडर निर्माण गरी सञ्चालनमा ल्याएको, पिलुवा सबस्टेशनदेखि औराहासम्म ३३ केभी भूमिगत विद्युत लाइन सञ्चालनमा ल्याएर विशेष आर्थिक क्षेत्र प्राधिकरणलाई मागअनुसार विद्युत आपूर्ति गरिएको छ। यी सुधारसँगै वितरण प्रणाली थप भरपर्दो, प्रभावकारी र गुणस्तरीय बनेको कार्यालय प्रमुख इन्जिनियर माधव महतले जानकारी दिनुभयो।

