अखिलेश कुमार यादव। साउन २४ सिमरा :आन्तरिक राजस्व कार्यालय सिमराको राजस्व संकलनमा १७ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिइएको छ । आन्तरिक राजस्व कार्यालय सिमराका कार्यालय प्रमुख दिनेश पाण्डेका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब २२ करोड ७७ लाख ६४ हजार ४ सय ८० रुपैयाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा बढेर १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार ५ सय ५० रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन १७ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा २१ अर्ब ४ करोड ४४ लाख ८६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यको ८५ प्रतिशत हासिल गरेको जानकारी दिएको छ। तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा आयकरतर्फ १ अर्ब ७४ करोड २२ लाख ३१ हजार २ सय ७० रुपैयाँ, मूल्य अभिवृद्धि कर अर्थात् भ्याटतर्फ १ अर्ब ५२ करोड ८० लाख ८ सय ३१ रुपैयाँ र अन्तःशुल्कतर्फ ११ अर्ब ६६ करोड २० लाख ४७ हजार १ सय ४० रुपैयाँ राजस्व संकलन भएको देखिएको छ। यसैगरी, सिमरा आन्तरिक राजस्व कार्यालयमा करदाता संख्या पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल ८४ हजार ४ सय ८४ करदाता रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ९३ हजार १ सय ९ पुगेको कार्यालय प्रमुख दिनेश पाण्डेले जानकारी दिनुभएको छ।
गत आर्थिक वर्षमा आयकरतर्फ १६ हजार ४ सय ५४, मूल्य अभिवृद्धि करतर्फ १० हजार २ सय ४५, अन्तःशुल्कतर्फ १ हजार ६ सय ४८, व्यक्तिगत प्यानतर्फ ६४ हजार ६ सय र डब्ल्युप्यानतर्फ १ सय ६२ करदाता दर्ता रहेको बताइएको छ । राजस्व संकलनसँगै करदाता संख्या पनि बढेकाले करको दायरा विस्तार हुँदै गएको कार्यालयले जनाएको छ । यसअघि प्रकाशित समाचारमा राजस्व संकलनको रकम उल्लेख गर्दा तथ्याङ्कलाई सही रूपमा रूपान्तरण गर्न नसकिएको कारण त्रुटि हुन गएकोमा क्षमाप्रार्थी छौँ। कार्यालयबाट प्राप्त मूल तथ्याङ्क पुनः जाँच गरी समाचार सच्याएर पुनःप्रकाशन गरिएको जानकारी गराउँदछौँ। यसबाट पाठक तथा श्रोतामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।

