अखिलेश कुमार यादव । १६ मङ्सिर, बारा : गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ५० वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ । पर्सादेखि रौतहटसम्म फैलिएको ८१ किलोमिटरको गण्डक नहरमा रहेका दर्जनौँ पुलहरुबाट दिनहुँ सवारीसाधनहरु ओहोरदोहार गर्ने गर्छन्।
अहिले पुलहरु जिर्ण अवस्थामा भएका कारण सवारीसाधनको दुर्घटनाको जोखिम बढ्दै गएको हो। आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको बारा, पर्सा र रौतहट जिल्लाका दर्जनौँ पुल क्षतिग्रस्त भएका छन् ।पूल बाट आअवत जावत गर्दा समेत पूल हाल्ने गरेको कारण जुनसुकै बेला पूल ढलेर दुर्घटना हुने जोखिम रहेको यात्रुहरु बताउछन ।
नहरको पुल भएर दैनिक हजारौँको संख्यामा गाडीहरु आवतजावत गर्दा दुर्घटनामा पर्ने डर रहेको बाराको प्रसौनी गाउँपालिकाकस स्थानीय राजेन्द्र मुखियाले बताए। उनले साइकल लिएर आउँदा पनि ठूलो सवारीसाधन पुलबाट आवतजावत गर्दा वारपार गर्न मुस्किल भएको बताए।साँघुरो पुल, सबै सवारीसाधानहरु त्यहीबाट आवतजावत गर्ने भएकोले विद्यालय जाने विद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।गण्डक नहरमा रहेको पुलको बीच भागमै प्वाल परेका छन् भने अधिकांश पुलहरुको रेलिङहरु भत्किएका छन्।नहरको पुलहरु एकतर्फी गाडी मात्रै सञ्चालन गर्ने बनाइएकोले उक्त पुलबाट एक पटकमा एउटा मात्रै गाडी आरपार गर्न सक्छन तर एकै पटक २/३ वटा गाडी वारपार गर्दा झनै दुर्घटनाको जोखिम बढेको छ ।
गण्डक नहरमा ठूला पूल २५ वटा छ तर पूलहरु धेरै पुराना भएकाले जिर्ण बन्दै गएको र दुर्घटनाको जोखिम समेत बढेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकारी सुरेश साहले बताए ।उनले भने पूल निर्माणको लागि सडक डिभिजन कार्यालयले अब चाडै ठेक्का प्रक्रियामा जाने जानकारी प्राप्त भएको छ ।मधेश प्रदेशको बारा , पर्सा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् ।नहरका संरचना हलुका सवारीका लागि बनाइए पनि ठूला सवारी साधनको आवतजावत भइरहने भएकाले दिनदिनै ती संरचना जीर्ण बन्दै गएको समस्या यथावत् रहेको देखिन्छ ।